लक्षाहुति यज्ञ आजबाट शुरु
SamacharDesk – कल्चर ब्यूरो | २०७५ चैत्र ११, सोमबार

देशमा शान्ति र जन कल्याणको कामना सहित ललितपुरमा लक्षाहुति यज्ञ आजबाट शुरु भएको छ । आइतबार शुरु उपाकर्म गुठी ललितपुर अन्तर्गत श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ कार्यक्रममा यज्ञ भने आजबाट शुरु भएको हो ।
ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको सक्रियतामा शुरु भएको अनुष्ठानमा आइतबार पञ्चगव्य साधन, वृद्धि श्राद्ध र मूल कलश स्थापना गरिएको थियो ।
आज अग्नि स्थापना गरी देवीमन्त्रबाट आहुति आरम्भ गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम अनुसार आजै चतुर्वेद पाठ, सिद्धेश्वर महादेवलाई जलाभिषेक पनि गरिनेछ । साथमा श्री सप्तसती चण्डी पाठ र पूर्णचण्डी देवीको पूजा पनि आजै गरिनेछ ।
यज्ञमा सहभागीताको लागी स्थानीय साथै उपत्यकाका विभिन्न ठाउँबाट आम जनसमुदायको भेला पनि हुन थालिसकेको छ ।
यस यज्ञबाट संकलित रकमबाट ललितपुरमा वर्षेनी मनाइने नृसिंह जात्रा उपाकलं सायाःको संचालनको लागि कोष खडा गरिने जनाइएको छ । उपाकर्म गुठी ललितपुरले हरेक वर्ष भाद्र कृष्ण पञ्चमिका दिन नृसिंह जात्रा मनाउने गरेको छ । गुठीले यस जात्रालाई सम्भवतः विश्वकै एकमात्र नृसिंह जात्राको रुपमा दावी गरेको छ ।
गुठीको कुनै किसिमको आर्थिक श्रोत पनि नभएको र राज्यस्तरबाट पनि सहयोगको अभावमा सो जात्रा संचालनको लागि आर्थिक समस्या रहँदै आएको गुठीले जनाएको छ ।
यज्ञ कार्यक्रम चैत्र १६ गतेसम्म संचालन हुनेछ ।
Categorized in संस्कृति