ललितपुरको नृसिंह जात्रा शुक्रबार हुँदै
SamacharDesk – कल्चर ब्युरो | २०७५ भाद्र १४, बिहिबार

ललितपुरको प्राचीन नृसिंह जात्रा यसपालि आउँदो भाद्र १५ गते शुक्रबार मनाउन लागिएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाइने जात्रा यसपालि आउँदो भाद्र १५ गते पट्को टोलबाट मनाउन लागिएको हो ।
ललितपुरका राजोपाध्याय ब्राम्हण समुदायमा ज्येष्ठताको आधारमा पालो चलाइने यो जात्रा यसपालि ललितपुरका पट्को टोल निवासी ध्रुवज्वालानन्द शुक्ल राजोपाध्यायज्को घरबाट संचालन हुन लागेको हो । पालोवालाकै घरबाट जात्रा शुरु गरी त्यहिँ सम्पन्न गर्ने परम्परा अनुसार यसवर्षका पालोवाला ७८ वर्षिय ध्रुवज्वालानन्द शुक्ल राजोपाध्यायको घर पट्कोबाट जात्रा संचालन हुन गइरहेको हो ।
उपाकर्म गुठी ललितपुरबाट संचालन हुँदै आएको यस जात्रामा पालोवालाको पुरोहित अथवा ज्वाइँ अथवा भान्जा नरसिंह बनेर ललितपुरको प्राचीन नगरीको सायाः रुटमा परिक्रमा गराउने चलन रहेको छ । हरेक वर्ष झैं यस वर्ष पनि जात्रामा धिमेय् बाजाको टोलि, विभिन्न झाँकि, भजन लगायतबाट जात्राको रौनक थपिने गुठीले जनाएको छ ।
ललितपुरमा कार्तिक नाचको एक र अर्को उपालकं सायाःका गरी दुइ नृसिंहका रुप रहेका छन् । कार्तिक नाचका नृसिंहलाई उग्र रुपमा लिइन्छ भने उपालकं सायाःका नृसिंहलाई शान्त स्वभावका नृसिंहको रुपमा लिइन्छ ।
विश्व शान्तिको कामना गर्दै मनाइने यो जात्रा सफलतापूर्वक सम्पन्न भएमा देशलाई दैवीप्रकोप आदिबाट रक्षा हुने, रोगव्याधीबाट भक्तजनहरुको रक्षा हुने जनविश्वास समाजमा रहिआएको छ । ३८७ वर्षसम्मको प्रमाण देखिएको यो जात्रा यसभन्दा अघि नै संचालन भइसकेको र यस भन्दा अगाडिका ऐतिहासिक प्रमाणहरु समयको कालखण्डमा मेटिएको वा मेटाइएको हुनसक्ने विज्ञहरुको भनाई रहेको छ ।
Categorized in संस्कृति