arin enterprises

ललितपुरमा पनि न्हूदँ धुमधामका साथ मनाईने

SamacharDesk – सोसियल ब्यूरो | २०७५ कार्तिक १६, शुक्रबार

नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिएसँगै नेपाल सम्वतको न्हूदँ (नयाँ वर्ष) को उत्सवको माहौल पनि तातिएको छ । विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु गर्दै नयाँ वर्षलाई स्वागत गरिँदैछ । यसै सन्दर्भमा ललितपुरमा पनि न्हूदँको उत्सव धुमधामका साथ मनाईँदैछ ।

ललितपुरमा न्हूदँ धुमधामका साथ मनाउन ज्यापु समाजका मोहन व्यन्जनकारको संयोजकत्वमा न्हूदँ समारोह समिति गठन भएको छ । नेपालभाषा मंकाः खलः ललितपुरको आयोजना संयोजनमा गठित समितिले म्हपुजाका दिन वृहत सांस्कृतिक र्याली तथा समारोहको आयोजना गर्ने भएको छ ।

म्हपुजाको दिन प्रधानमन्त्री के.पी शर्मा ओलीको प्रमुख आतिथ्यमा विभिन्न सांस्कृतिक बाजागाजा र झाँकिसहित र्यालीको आयोजना गरिने आयोजक समितिले जनाएको छ । उक्त र्यालीले नगर परिक्रमा गरी मंगलबजारमै आई समापन हुनेछ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यमा समापन समारोह आयोजना गरिने भएको छ ।

सो र्यालीमा सहभागी हुने उत्कृष्ट सांस्कृतिक झाँकि प्रदर्शन गर्ने टोल, समाज, संघसंस्थालाई हरेक वर्ष झैं यस वर्ष पनि नगद पुरस्कार प्रदान गरिने समितिले जनाएको छ । उत्कृष्ट ३ वटा संस्थालाई क्रमशः नगद रु. ५,०००, रु.३००० र रु. २००० प्रदान गरिनेछ भने १५ वटा संस्थालाई गोलाप्रथाद्वारा रु. १,००० प्रदान गरिने भएको छ । उक्त रकम ललितपुर महानगरपालिकाबाट उपलब्ध हुँदै आएको समितिले जानकारी दिएको छ । 

त्यसैगरी ३ वटा संस्थालाई गोलाप्रथाबाट क्रमश नगद रु.५०००, रु.३००० र रु.२००० पनि प्रदान गरिनेछ । सो रक समाजसेवी मोतिलाल शिल्पकारबाट उपलब्ध हुँदै आएको पनि समितिले जनाएको छ ।

समारोहलाई व्यवस्थित र भव्य बनाउन समितिले कार्यविभाजन पनि गरेको छ । जसअन्तर्गत प्रचार प्रसार स्यस्यः समाज र ताम्रकार समाज, टिका कोखा वितरणमा राजोपाध्याय समाज र चित्रकार समाज, सहभागीहरुको सूची दर्ता कपाली समाज र तण्डुकार समाज र सिकर्मी समाजले गर्नेछ । त्यसैगरी व्यानर र स्ट्रीपका लागी बाराही समाज र शिल्पकार समाज, स्वयसमेवक परिचालन ज्यापु समाज र वौद्ध विहार संघ, पर्चा प्रकाशन र वितरण नेपालभाषा मंकाः खलः ललितपुरको जिम्मामा परेको छ ।

वर्षभरि विभिन्न कार्यक्रमको आयोजना गर्दै नयाँ वर्षको उत्सव मनाईने समितिले जनाएको छ । यसैक्रममा न्हूदँ समारोह समिति ११३९ अन्तर्गत रोट्र्याक क्लब अफ ललितपुरको आयोजनामा कार्तिक २१ गते बुधबार लक्ष्मीपूजाका दिन न्हूदँको पूर्व सन्ध्यामा मैनवत्ती र्यालीको पनि आयोजना गरिने भएको छ ।

Categorized in समाज