ललितपुरमा भीमसेन जात्रा सम्पन्न
SamacharDesk – आकाश राजोपाध्याय | २०७५ भाद्र २०, बुधबार

ललितपुरको ऐतिहासिक भीमसेन जात्रा आज सम्पन्न भएको छ । ब्यापारी, व्यवसायीहरुको देवताका रुपमा पुजिने भीमसेनको खट जात्रा आज ललितपुरमा मनाइएको हो ।
वर्षेनी भाद्र कृष्ण नवमीका दिन मनाइने जात्रामा मंगलबजारस्थित भीमसेनको मूर्तिलाई खटमा बोकेर नगर परिक्रमा गराउने गरिन्छ । खटलाई बोकी मंगलबजारबाट सौगलहुँदै सुन्धारा–महाबौद्ध–चक्रबहिल–इखालखु–पूर्णचण्डी–पिम्बहाल–नकबहिल–बगलामुखी–स्वथ हुदै पुनः मंगलबजारमा भीमसेन मन्दिरको मुल डबलिमा पुगेर जात्रा समापन हुन्छ ।
भक्तजनहरु धुप बालेर ‘भीमसेन महाराजकी जय’ भन्दै भीमसेनको जयजयकार सहित जात्रामा सरिक हुने गर्छन् । पाटनका प्रत्येक टोलका भजन मण्डलीहरु समेत सहभागी हुने जात्रामा भीमसेनको खटलाई नगर परिक्रमा गराई मंगलबजारमै पुगेर मुर्तीलाई मन्दिरमा भित्र्याएपछि जात्रा सम्पन्न हुने गर्दछ ।
बल, साहस र बहादुरीको देवताको रुपमा परिचित भीमसेनको यो जात्रा व्यापारीवर्गका साथै युवावर्गमा समेत लोकप्रिय छ । प्राचीन समयमा वैदेशिक व्यापारको क्रममा कठिन पहाड, खोलानाला घनाजंगल पार गर्दा चोरी डकैतीको साथै जङ्गली जनावर समेत भय रहन्थ्यो । त्यस्तो अवस्थामा साहस र बलको उपासनाको रुमपा व्यापारीहरुले भीमसेनको पुजा गर्न थालेको किम्वदन्ती समाजमा प्रचलित छ ।
नेपालमा विभिन्न स्थानमा भीमसेनको पुजा गर्ने चलन रहेतापनि ललितपुरमा मनाईने जात्राको रौनक भने बेग्लै देखिन्छ । मल्लकालिन राजा श्रीनिवास मल्लले १७३८ सालमा प्यागोडा शैलीमा निर्माण गरेको मंगलबजारस्थित भीमसेन मन्दिर काष्ठ र धातु कलाको अनुपम नमुना मानिन्छ ।
२०७५ भाद्र १९ रातको १ः२५ बजे पोष्ट गरिएको समाचार
Categorized in संस्कृति