arin enterprises

वर्षाका बीच पनि नरसिंह जात्रा मनाइयो

SamacharDesk – कल्चर ब्युरो | २०७५ भाद्र १५, शुक्रबार

ललितपुरमा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाइने उपाकलं सायाः नरसिंह जात्रा आज धुमधामका साथ मनाइएको छ । ठुलै वर्षाका बीच पनि धिमेय्, बाजागाजा लगायत विभिन्न झाँकि सहित जात्रा धुमधामका साथ मनाईएको हो ।

ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्म गुठीमा ज्येष्ठताको आधारमा पालो चलाईने यस जात्रालाई यसपालि पट्को निवासी ध्रुव ज्वालानन्द शुक्ल राजोपाध्यायको घरबाट संचालन भएको थियो । जात्रा पालोवालाका पुरोहित, ज्वाईँ र भान्जा मध्ये एकलाई नरसिंह बनाउने परम्परा अनुसार यसपाली पालोवाला ध्रुव ज्वालानन्द राजोपाध्यायका ज्वार्ईँ भक्तपुर खौमाटोल निवासी मनिन्द्रराज राजोपाध्यायलाई नरसिंह बनाई ललितपुरको सायाः रुटमा परिक्रमा गराईएको थियो ।

पालोवालाको निवास पट्को टोलबाट शुरु भएको जात्रा ललितपुरको प्राचीन नगर सायाः रुटको परिक्रमा गरी पट्कोमै पुगेर सम्पन्न भएको हो । नरसिंहलाई ६ जोडि अप्सरा, लक्ष्मी, सरस्वती र प्रह्लादको साथमा नगर परिक्रमा गराउने गरिन्छ ।

धिमेय्, भजन समूह, लाखे सहित निकालिएको नरसिह जात्रामा नरसिंह भगवानको दर्शन र पूजाका लागी भक्तजनको ठुलै घुइँचो लागेको थियो । ठुलै वर्षाका वावजुद पनि नरसिंहसँगै नगर परिक्रमा गर्नेहरुको संख्यामा कमी आएको थिएन । साथमा वर्षामा रुझेरै पनि नरसिंहको दर्शन र पूजा गर्नेहरु आउँदै गरेका थिए ।

यस जात्राको प्राचीनता बारेमा भने स्पष्ट भन्न नसकिने विज्ञहरुको भनाई छ । यस जात्राको ३८७ वर्षसम्मको प्रमाण फेला परिसकेको स्थानीय संस्कृतिविद् साथै नृसिंह जात्रा विज्ञ हेरम्बानन्द राजोपाध्यायले बताउनुभयो । मल्लकालमा राजकिय सम्मान नै पाएको यो जात्रा मल्लकालभन्दा अगाडि नै शुरु भइसकेको तर त्यसभन्दा अगाडिका ऐतिहासिक प्रमाणहरु ईतिहासको कालखण्डमा विभिन्न घटनामा मेटिएको वा मेटाइएको उपाकर्म गुठी ललितपुरले जनाएको छ ।

ललितपुर नगरीमा नरसिंहका दुइ रुप विराजमान छन् । कार्तिक नाचका नरसिंहलाई उग्र रुपको नरसिंहको रुपमा लिइन्छ भने उपाकलं सायाःका नरसिंहलाई शान्त रुपमा लिइन्छ । विश्व शान्तिको कामना सहित चलाइने यो जात्रा सफलतापूर्वक सम्पन्न भएमा दैवी प्रकोप लगायतका घटना, दुर्घटनाबाट मुक्ति पाइने, रोगव्याधी नलाग्ने जनविश्वास समाजमा रहि आएकोछ ।

Categorized in संस्कृति