arin enterprises

वीरगञ्ज बसेका ३ जना भारतीयमा कोरोना संक्रमण

SamacharDesk – विकाश | २०७६ चैत्र ३०, आइतबार

पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ । 

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो राती गरिएको परिक्षणमा बीरगञ्जमा बसिरहेका ३ जना भारतीय नागरिकमा संक्रमण देखिएको हो ।

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएपनि यकिन गर्न नसकिएपछि थप परिक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

संक्रमण पुष्टि भएकामध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । संक्रमित तीनै जना पुरुष रहेको र उनीहरुको उमेर क्रमशः ३७, ४४ र ५५ वर्ष रहेको उल्लेख छ ।

उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएको स्थानीयको भनाई छ ।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन उनीहरु यहाँ आएका थिए । भारत फर्किन मार्च ४ को टिकेट काटिसकेका उनीहरु लकडाउनका कारण यहिँ रोकिएका थिए ।

१५ अप्रिलमा घर फर्किने मनसायमा रहेका उनीहरु परिक्षण गर्न आफैं नारायणी अस्पताल आएको बताइएको छ । 

भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । तीमध्ये तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयले निजहरुको संसर्गमा आएकाहरु र निजहरू गएको स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यहरू भैरहेको जनाएको छ ।

Categorized in राष्ट्रिय