शंखधर साख्वाः सामाजिक न्यायको प्रतिक
SamacharDesk – सोसियल ब्यूरो | २०७६ कार्तिक २३, शनिबार

नेपाल सम्बतका प्रवर्तक राष्ट्रिय विभुति शंखधर साख्वाः सामाजिक न्यायको प्रतीक भएकोमा जोड दिइएको छ । नेपाल सम्वत ११४० नववर्षको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रममा वक्ताहरुले जनतालाई ऋण चुक्ता गरेर देशलाई ऋणमुक्त बनाइदिने शंखधर न्यायको साथै त्यागको प्रतीक भएको बताए ।
ताम्रकार समाजबाट आयोजित शुभकामना आदानप्रदान एवं चियापान समारोहमा प्रतिनिधीसभा सदस्य पम्फा भुषालले आज भन्दा ११३९ वर्ष अगाडी शंखधर साख्वाःले गरीव नेपाली जनताको ऋण चुक्ता गरीदिएर सामाजिक न्यायमा ठूलो कार्य गर्नुभएको बताउनुभयो ।
शंखधर लगायतका अग्रजहरुको सपना साकार पार्न, ललितपुरको कला, सम्पदा संस्कृतिको संरक्षण सम्वद्र्धन गर्न ललितपुरलाई साँस्कृतिक राजधानीको रुपमा अगाडी बढाउन अवधारणा पेश गरेको सभासद् भूषालको भनाई थियो ।
ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले राज्यले नेपाल सम्बतलाई राष्ट्रिय सम्बत, शंखधर साख्वाःलाई राष्ट्रिय विभुति घोषणा गरीसकेको अवस्थामा यसको व्यापक प्रचार प्रसारको साथै व्यवहारमा प्रयोगका लागी सरोकारवालाहरु अघि बढ्नुपर्ने बताउनुभयो ।
‘नेवाः समुदायको अस्तित्व नै समाप्त हुने गरी सरकारले ल्याएको गुथि विधेयक विरुद्ध जसरी नेवाः समुदाय एकतावद्ध भएका थिए, त्यसरी नै नेवाःका अन्य साझा मुद्दाहरुमा पनि एक भएर अगाडी बढनुको विकल्प छैन’ अध्यक्ष ताम्रकारले भन्नुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले ललितपुर नगरको सम्पदा, संस्कृतिको संरक्षण, सम्वद्र्धनमा महानगर लागी परेको बताउंदै अबका दिनमा महानगरले नेपाल सम्बतको प्रयोग पनि नियमित रुपमा गर्दै जाने बताउनुभयो ।
सो अवसरमा प्रदेशसभा सदस्य शोभा शाक्य, न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष रमेश महर्जन, नेपाल भाषा मंकाः खलः यलका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठ, नेपाल राष्ट्रिय खड्गी समाज, ललितपुरका अध्यक्ष अरोज खड्गी, समाजका महासचिव शम्भुगोविन्द ताम्रकार, कोषाध्यक्ष दिपेश ताम्रकार लगायतले शुभकामनाको साथमा आ–आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य कृष्णलाल महर्जन, प्रदेश सभा सदस्य राजकाजी महर्जन, ज्ञानेन्द्र शाक्य, महानगरका उपमेयर गीता सत्याल, प्रहरी उपरिक्षक दुर्गा सिंह, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन लगायत विभिन्न जातीय समाज, संघसंस्थाका अध्यक्ष एवं पदाधिकारीहरु गरी २ सय बढीको उपस्थिति थियो ।
Categorized in समाज