arin enterprises

शान्त स्वरुपका नरसिंह पनि छन् ललितपुरमा

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७६ भाद्र ३, मंगलबार

नरसिंह – भगवान नारायणका चौथो अवतार । हिरण्यकश्यपुको वध गर्दै आफ्ना भक्त प्रल्हादको रक्षा गर्न नारायणले नरसिंह अवतार लिएका थिए । नरसिंह भन्ने वित्तिकै सबैले कल्पना गरिहाल्छन् मानव शरीर तर टाउको सिंहको । एकदमै उग्र रुप भएका । तर काठमाडौं उपत्यकाको ललितपुर नगरीमा शान्त स्वभावका नरसिंह पनि छन् भन्ने कुरा भने कतिलाई थाहा नहुन नि सक्छ ।

कार्तिक नाचको दौरान निकालिने नरसिंह उग्र रुपका हुन् भने उपाकलं सायाःका नरसिंह शान्त स्वभावका हुन् ।

काठमाडौं उपत्यकाका आदिवासी देव व्राम्हण समुदायले हरेक वर्षको भाद्र कृष्ण पञ्चमिका दिन उपाकलं सायाः नामबाट नरसिंहको जात्रा चलाउँदै आएका छन् ।

यो वर्ष भने उपाकलं सायाः नरसिंह जात्रा आज भाद्र ३ गतेको दिनमा हुन गइरहेको छ ।

नरसिंह भन्ने वित्तिकै वैष्णव मत हो भनीरहनु नपर्ला । तर यो जात्राको अर्को एउटा विशेषता भनेको यसमा विष्णुको साथै शक्तिको पनि आराधना गरिन्छ ।

यो जात्राको शुरुवात कहिलेबाट भयो भनेर यकिनका साथ भन्न सकिने अवस्था छैन । विगतमा श्रीधर नारायणको जात्रा हुने गर्दथ्यो भनेर समाजका अग्रजहरुले बताउने गर्छन् । एकपटक जात्राको दौरान केही समूहबाट आक्रमण भएर श्रीधर नारायणको जात्रा रोकियो र नरसिंह जात्रा चलाउन थालिएको भनाई रहेको छ । ललितपुरका राजोपाध्याय व्राम्हणहरुको उपाकर्म गुठीसँग भने यसको नेपाल सम्वत ७५१ (वि.सं.१६८८) देखिको लिखित दस्तावेज छ ।जात्राको स्वरुप

यो जात्रा ललितपुरको षट्कुल (६ वटा कुल) का राजोपाध्यायहरुको उपाकर्म गुथिले सञ्चालन गर्दै आएको छ । ललितपुरका राजोपाध्यायहरुमा ज्येष्ठताको आधारमा यो जात्रा संचालनको पालो दिइन्छ । पालो लिनको लागि बाध्यकारी अवस्था नरहेपनि एक घरमा एउटा पुस्तामा एक पटक मात्र पालो आउने पनि अवस्था नरहने हुँदा पालोवालाले सौभाग्य नै ठानेर जात्रा संचालन गर्ने गरेको पाइन्छ ।

जात्रामा पालोवालाको पुरोहित अथवा ज्वाइँ अथवा भान्चालाई नरसिंहको मुकुण्डो लगाउन दिइ । ललितपुरको गाईजात्रा रुटमा परिक्रमा गराइन्छ । जात्राको शुरुवात र अन्त्य पालोवालाको निवासबाटै हुने गर्छ भने जात्राको रुट भनेको ललितपुर नगरको प्राचीन वस्ती हो ।

यो वर्षको पालो भने स्वनिम्ह निवासी हेरम्वराज राजोपाध्यायलाई परेको छ । त्यसैले जात्रा उनैको निवास स्वनिम्हबाट शुरु हुन गइरहेको छ । जात्रा स्वनिम्हबाट शुरु भई नकबहिबाट धलायचा हुँदै क्वालखु, झतापोल, कुम्भेश्वर, क्वबहाल, स्वथ, मंगलबजार, सौगल, सुन्धारा, वकुबहाल, चक्रबहिल, तंगल, हौगल, तिछुँगल्ली, इखालखु, जेनबहाल, वलाबाट पूर्णचण्डि हुँदै गाःबहालबाट प्यंगःथां, पिम्बहाः अनि स्वनिम्हमै पुगेर सम्पन्न हुनेछ ।

यसरी नगर परिक्रमा गराईँदा नरसिंहको दायाँ र वायाँ लक्ष्मी र सरस्वती पनि सँगसँगै रहेका हुन्छन् । अगाडी भने भक्त प्रल्हादको रुपमा एक वालक हातमा धूप लिएर नरसिंहपट्टि फर्केर उल्टो पाइलाबाट हिँड्ने गर्छन् । यसैगरी विष्णुका द्वारपालको दण्ड समाउँदै एक जोडी, चमर पंखाको एक जोडी लावा अभीर छर्दै एक जोडी, दुबोले गोरस सिञ्चन गर्दै एक र कुचो लगाउँदै एक गरेर पाँच जोडी अप्सराले पनि जात्राको रौनक थपेको हुन्छ । साथमा भजन समूह, धिमे बाजा समूह, लाखेले त जात्रालाई हर्षोल्लासमय बनाउँछ ।

काली पनि हुन् नरसिंह :

नरसिंहको पछाडी कपडाबाट बनाइएको दुइवटा पुतली पनि बाँधिएको हुन्छ र नरसिंह हिँड्ने बेला सोही पुतलीलाई लतार्दै जान्छन् । रुन्चे लागेका बालबालिकालाई यो पुचली ढोग्न लगाएमा रुन्चे निको हुन्छ भन्ने जनविश्वास रहेको छ ।

जात्राका मुख्य पात्र नरसिंह रहेको कारणले सर्वसाधारणले यी पुतलीलाई दुई असुरहरु हिरण्याक्ष र हिरण्यकशिपु भन्ने गर्छन् । तर यिनीहरु हिरण्याक्ष र हिरण्यकशिपु भने होइनन् । पुराणको आधारमा हेर्ने हो भने नरसिंहले मात्र हिरण्यकश्यपुको वध गरेका थिए, हिरण्याक्षको वध त नरसिंहले नभई नारायणका तेश्रो अवतार बराहले गरेका हुन् । खासमा यी पुतलीहरु हिरण्याक्ष र हिरण्यकश्यपु नभई मधु र कैटभ हुन् भनी दावी गर्नुहुन्छ नरसिंह जात्रा विज्ञ हेरम्वानन्द राजोपाध्याय । मधु र कैटभको वध नारायणले गरेका थिए । र यसमा नारायणलाई साथ दिएका थिए कालीले । मधु र कैटभलाई घिसार्दै हिँडेका उपाकलं सायाःका नरसिंहको अग्र भाग नरसिंह हो भने पछाडीको भाग काली हो ।

ललितपुरको कार्तिक नाचकै क्रममा पनि कार्तिक शुक्ल त्रयोदशिको दिन नरसिंह अवतार प्रदर्शनभन्दा अघि ललितपुरमा तलेजुमा कालीको पूजा गरिन्छ । नाच शुरु हुनु अघिसम्म बलिभन्दा अगाडीसम्मको पूजा गरिन्छ । नाच सम्पन्न हुनेवित्तिकै फेरी तलेजुमा बलि पूजा गरी विसर्जन गरेर प्रसाद ग्रहण गरिन्छ । यसप्रकारले नरसिंह नाचभन्दा अगाडी पनि कालीको पूजा गर्नुपर्ने र नाच सम्पन्न भइसकेर पनि कालीकै पूजा गरेपछि मात्र नाच विधिवत् सम्पन्न हुने परम्पराले नरसिंह र कालीको सम्वन्ध देखाउँछ अथवा भनौं नरसिंहको परोक्ष रुप काली हो भन्न सकिन्छ । यहि दावी रहेको छ नरसिंह जात्रा विशेषज्ञ राजोपाध्यायको ।

जात्रासँग जोडिएको मान्यता :

विश्व शान्तिको कामनासहित उपाकलं सायाः नरसिंह जात्रा मनाइन्छ । वैष्णव धर्मसँग प्रत्यक्ष सम्वन्ध देखिएतापनि कुनै धर्म वा समुदाय अथवा क्षेत्र विशेषको लागि मात्र भनेर यो जात्रा मनाइने भने होइन । चाहे जुनै धर्म वा समुदाय होस्, विश्वका हरेक प्राणीको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै या जात्रा हुने गर्दछ ।

नरसिंहलाई प्राकृतिक प्रकोप वा संकट मोचकको रुपमा लिइन्छ । अहिलेसम्म पनि भूकम्पको समयमा सर्वसाधारणले घुँडाले टेकेर हात मुठ्ठी बनाई भुँइमा टेक्दै नरसिंह नरसिंह भनी जप्ने चलन हाम्रो समाजमा अद्यापि देख्न सकिन्छ । फेरी यो जात्रा हुने समय पनि प्राकृतिक प्रकोपले दुःखकष्ट भोग्नुपर्ने समय हो । वर्षातको मौसममा बाढी, पहिरो, डुवान त यहाँको वर्षेनीको भोगाई भइसक्यो । रोगको संक्रमणको डर पनि यहि समयमा रहन्छ । यस प्रकारका प्राकृतिक प्रकोप वा संक्रमण आदि सबैबाट सकल प्राणीमात्रको रक्षा होस् भन्ने कामना गर्दै यो जात्रा मनाइन्छ । यो जात्रा विना कुनै वाधा अड्चन सम्पन्न भएमा प्राकृतिक प्रकोपबाट दुःख नुहने, रोगको संक्रमण नहुने र विश्वमा शान्ति हुने धार्मिक र सामाजिक विश्वास छ ।

Categorized in संस्कृति