शिवको आराधना गर्दै महाशिवरात्री मनाईँदै
SamacharDesk – विकाश | २०७६ फाल्गुण ९, शुक्रबार

आज महाशिवरात्री । देवादिदेव महादेवको पूजा आराधना गर्दै आज देशैभरि आआफ्नो सँस्कृति अनुसार महाशिवरात्री पर्व मनाईँदैछ ।
देशभरिका विभिन्न शिवालयहरुमा आज महादेवको दर्शन र पूजा आराधना गर्ने भक्तजनहरुको ठुलै घुइँचो लागेको छ । विशेष गरेर आजको दिनमा काठमाडौं गौशालास्थित पशुपतिनाथमा ठुलो मेला लाग्ने गर्दछ । आजको दिनमा पशुपतिनाथमा देशभरिबाट मात्र होइन, भारतबाट समेत दर्शनार्थीहरु पुग्ने गर्दछन् ।
आज पशुपतिनाथमा पुग्ने दर्शनार्थीहरुको जनसागरलाई एउटा धार्मिक कुम्भको रुपमा ब्याख्या गर्न सकिन्छ । नेपालभरि र भारतबाट समेत लाखौंको संख्या भक्तजन पशुपति पुग्ने गर्दछन् ।
आजको दिनको लागि भारतबाट साधूहरु पनि ठुलो संख्यामा पशुपति पुग्ने गर्दछन् । ती साधुहरु फर्कने बेलामा पशुपती विकास कोषले दक्षिणा अनि भेटी सहित औपचारीक विदा दिने चलन छ ।
पछिल्लो समयमा आएर सानो पशुपति भनेर चिनिने मखन महादेव ईन्द्रेश्वरको मन्दिरमा पनि ठुलै मेला लाग्न थालेको छ । यहाँ पनि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागबाट आई भगवान शिवको दर्शन गर्न आउने गरिन्छ ।
वर्षभरिमा चारवटा रातलाई धार्मिक दृष्टिकोणले विशेष मानिन्छ । दशैंको कालरात्री, कृष्णाष्टमीको मोहरात्री, तिहारमा लक्ष्मीपूजाको सुखरात्री र महाशिवरात्री ।
वर्षभरिको १२ वटा महिनामा १२ वटै शिवरात्री रहने धार्मिक मान्यता छ । तर फाल्गनु कृष्ण चतुर्दशीलाई महादेवको विशेष दिनको रुपमा महाशिवरात्रीको रुपमा मनाइन्छ ।
किन मनाइन्छ महाशिवरात्री पर्व :
यो दिनमा महाशिवरात्री मनाइनुमा मुख्यतः तीनवटा कारणहरु पुराणहरुमा उल्लिखित छन् ।
महाशिवरात्रीलाई शिव–पार्वतीको विवाह भएको दिनको रुपमा मनाइन्छ । यो दिन भगवान शिवको पूजा आराधना गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुने र महाशिवरात्रीको ब्रत बस्नाले यदि कसैको विवाहमा बाधा–अड्चन आएको छ भने समस्त बाधा अड्चनहरु हटेर छिट्टै विवाह हुन्छ भन्ने मान्यता रहेको छ ।
पौराणिक मान्यता अनुसार महाशिवरात्रीको दिन नै भगवान शिव शिव लिङ्ग ूवरुपमा प्रकट भएका थिए । त्यो समयमा सबैभन्दा पहिले उनको यो स्वरुपको विधिपूर्वक पूजा–अर्चना गर्ने बम्हा र विष्णु थिए ।
आजको दिनमा महाशिवरात्री मनाइनुको अर्को कारण महादेवको निलकण्ठ स्वरुपसँग जोडिन पुग्छ । समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान शिवले यो सृष्टिलाई संकटबाट बचाए र उक्त विषलाई पिएर भगवान शिवको गला निलो भयो र उनी निलकण्ठ बने । भगवान शिव निलकण्ठ बनेको दिनको रुपमा पनि आजको दिनलाई महाशिवरात्रीको रुपमा मनाउने गरिन्छ ।
व्रतालुको लागि विशेष व्रत महाशिवरात्री व्रत :
आजको दिन भक्तजनहरु भगवान शिवको व्रत पनि बस्ने गर्दछन् । व्रतमध्ये सर्वोत्तम व्रतको रुपमा महाशिवरात्रिको व्रतलाई व्याख्या गरिएको छ ।
आजको दिन भक्तजनले स्नान गरेर शुद्ध भई व्रत बसिन्छ । शिवालयमा गइ पूजा गर्दा शिवको प्रिय वस्तुको रुपमा दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस दिन व्रतालुहरु उपवास गरी रातभर जाग्राम बस्ने गर्छन् ।
आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तन गरिन्छ । साथै सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ भने आगोको खरानीलाई पनि महादेवको प्रसादको रुपमा टिका पनि लगाउने गरिन्छ ।
महाशिवरात्रीको व्रत बस्नाले सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
