संसदमा एमसीसी अनुमोदनका लागि टेबल हुने
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ८, आइतबार

सत्ता गठबन्धन दलहरुबीच एमसीसी संसदमा टेबल गर्ने निर्णय भएको छ ।
आज बालुवाटारमा बसेको पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी आज संसद् बैठकमा टेबल हुने जानकारी दिनुभयो ।
सहमतिअनुसार यही फागुन १६ गतेसम्ममा एमसीसीको समयसीमा रहेको छ । हिजो बसेको नेकपा एसको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने निर्णय गरेको छ । आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाका शीर्षनेताहरू सहभागी थिए ।
यसैबीच एमसीसीको विरोधमा ६ वटा साना दलले आज पनि विरोध प्रर्दशन गर्ने भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले आज पनि विरोध प्रदर्शन गर्ने भएका छन् ।
एमसीसी विरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने ती दलले जनाएका छन् । चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन वैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी विरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता दिने भएका हुन ।
काठमाडौं उपत्यकामा माइतिघर मण्डलावाट बिरोध प्रदर्शनसहित नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्नेदेखि देशव्यापी रुपमा सबै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको ती दलले जनाएका छन् ।
Categorized in राजनीति