arin enterprises

संस्कृति संरक्षणकालागि दमोखिं वादन प्रतियोगिता शुरु

SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ २, शनिबार

ललितपुरमा वार्षिक रुपमा मनाइने ऐतिहासिक न्यकू जात्रा (मतयाः)का आयोजक समुदायले मात्र बजाउने दमोखिं बाजाको इतिहासमै पहिलो पटक बादन प्रतियोगिता शनिवारबाट शुरु भएको छ ।

संस्कृति संरक्षण गर्ने उद्धेश्यले न्यकू जात्रा मतयाः व्यवस्था समिति र पाटन जेसिसले न्यकू जात्रा संचालन गर्ने पाटनका १० वटा क्षेत्रका प्रतिनिधिहरुलाई एकै स्थानमा भेला गरेर सो प्रतियोगिता आयोजना गरेका हुन । 

न्यकू जात्रा मतया व्यवस्थापन समितिका संस्थापक अध्यक्ष मोतिलाल शिल्पकारले दमोखिं बजाउने ईतिहास र नियमलाई पनि कायम राख्न खोजिएको बताउँदै पालैपालो मतयाः जात्रा व्यवस्थापन जिम्मा लिने १० क्षेत्रका प्रमुख टोलबीच मात्र यो प्रथम प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । ‘मतयाः जात्रामा बजाईने धाः बाजाको ३२ ग्वाराबारे ज्ञान नभएकाले बजाउन निकै गाह्रो मानिने यस दमोखिं बाजाको प्रथम प्रतियोगितामा नै ८ वर्षका भाईबहिनीहरु र महालक्ष्मी, भैरव एवम् कौमारीको प्रतिकका रुपमा रहेको तीन वटा दमोखिं बालिकाहरुले राम्रोसँग बजाएको देख्न पाएकोमा अति नै हर्षित छु ।’ प्रतियोगिताका निर्णायक मण्डल मध्ये एक रहनुभएका शिल्पकारले भने ।

पाटन जेसिसले स्थानीयसँग सहकार्यको ईतिहासलाई नविकरण गर्नुकासाथै मौलिक संस्कृति संरक्षणकालागि न्यकू जात्रा मतयाः व्यवस्था समितिसँग संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको बताएका छन । ‘हामीले पाटनको मौलिक बाजा दमोखिंमा युवाहरुलाई आकर्षित गराउन पनि प्रतियोगिताको आयोजना गरेका हौं,’ पाटन जेसिसका निवर्तमान अध्यक्ष श्रीजेषलाल शिल्पकारले भने, ‘पाटनका १० क्षेत्रका प्रमुख टोलहरुले पालैपालो वार्षिक रुपमा बजाउँदै गरेको यो ऐतिहासिक बाजालाई वर्षैपिच्छे बजाउने मौका दिनुकासाथै बाजालाई प्रवर्ध्दन गराउने हाम्रो उद्धेश्य रहेको छ ।’

कुम्भेश्वर मेलाको पूर्वरात, न्यकू जात्रा शुरु गर्न अगाडी रात्रीकालीन यात्रा (बोगि), मतयाः जात्रा बाहेक स्वयम्भू र बुंगमतीमा गई बर्षमा ५ पटक मात्र बजाइने दमोखिं बाजा उपत्यकाभित्रका नेवाः समुदायमा पनि पाटनमा मात्र रहेको जानकारहरु बताउँछन । मतयाः जात्रा व्यवस्थापन गर्ने टोलहरुमध्ये पनि नागबहाः र ओकुबहालमा मात्रै सो दमोखिं बाजा रहेको संचारकर्मी एवं संस्कृतिकर्मी बिक्रम शाक्य बताउँछन ।

‘बार्षिक रुपमा पालो लिने टोलले मात्र बजाउन पाउने यो बाजा बजाउन १० वर्ष कुर्नु पर्ने हुन्थ्यो, प्रतियोगिताका रुपमा अब वार्षिक रुपमा बजाउन पाउनाले राम्रो परम्परा विकास हुने देखिन्छ ।’ १० क्षेत्रमध्ये एक सौगल टोलका वाद्यगुरु नरेशमान शाक्यले बताए । यस थालनीले आपसी प्रतिस्पर्धाकालागि युवाहरु थप आकर्षित हुने र बाजाको मौलिक ७ वटा तालहरु र टोल अनुसारका बोलहरु पनि संरक्षित हुन जाने उनले विश्वास प्रकट गरे । 

१० टोलका बाद्यगुरुहरु नकबहिलका हरिलाल श्रेष्ठ, मंगलबजारका रमेश बहादुर श्रेष्ठ, चत्रबहिलका दिल मोहन ताम्रकार, इखाछेँ नागबहाःका भिमरत्न शाक्य, बूबहाःका रत्नबहादुर शाक्य, हौगःका प्रेमकृष्ण राजकर्णिकार, ओकुबहाःका शान्तमानन्द शाक्य, इखालखुका पवनकुमार ताम्रकार, क्वबहालका कमलदास श्रेष्ठ र सौगः टोलका नरेश मान शाक्यको नेतृत्वमा बैकल्पिक सहित चार जना दमोखिंबादक, भुस्याः र गायक समूहहरुले प्रतिस्पर्धामा भाग लिएको आयोजक समितिका महासचिव रामकृष्ण चित्रकारले जानकारी दिनुभयो । यस दमोखिं बाजाको ७ वटा ताल मध्ये चो, जति र प्रताल प्रदर्शन गर्न आधा घण्टा समय दिइएको पनि उनले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट तीन समूहलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद राशी पुरस्कार व्यवस्था गरिएको प्रथम दमोखिं वादन प्रतियोगितामा स्थानीय सरकारको कुनै आर्थिक सहयोग भने प्राप्त नभएको बुझिएको छ ।  

नकबहिका संस्कृतिकर्मी आशारत्न शाक्यले संचालन गरेको सो प्रतियोगिताको निर्णायक मण्डलमा प्रद्युम्न कुमार श्रेष्ठ, वरिष्ठ चित्रकार वत्सगोपाल बैद्य, मोतिलाल शिल्पकार र हरिमान श्रेष्ठ रहेका थिए । शनिवार थालिएको प्रतियोगिताबाट ५ उत्कृष्ठ दमोखिं वादन समूह छनौट गरि असार ९ गते मंगलबजारको कार्तिक दबलीमा अन्तिम प्रतियोगता हुने आयोजकले जनाएका छन ।

Categorized in संस्कृति
SKIP THIS tihar2082