सगरमाथा आरोही रोजिता सम्मानित
SamacharDesk – सोसियल ब्युरो | २०७५ भाद्र १६, शनिबार

सगरमाथा आरोही महिला पत्रकार रोजिता बुद्धाचार्य जब बोल्दै थिइन्, उनले आफ्नो आँखाबाट छचल्किन खोजेको आँसु पनि लुकाउन खोज्दै थिइन् । छिनछिनमा उनी बोल्दै आँखामा विस्तारै निस्किन खोजेको आँसु अरुबाट लुकाउँदै पुछ्दै पनि थिइन् । प्रसङ्ग हो नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लाको साधारण सभाको ।
प्राय चंचल स्वभावमा देखिने रोजिता उक्त सभामा भने निकै भावुक देखिन् । आफु सानै छँदा वितेकी आफ्नी आमालाई सम्झिँदै रोजिता निकै भावुक बनेकि थिइन् । सानैदेखि आफु सगरमाथाको टुप्पोमा पुग्ने र त्यहाँबाट फुत्त उफ्रेर चन्द्रमामा गई आफ्नी आमालाई भेट्न जाने सोचले आफुमा सगरमाथा चढ्न जाने इच्छा जागेको उनले बताईन् । ‘म ३ वर्ष नै नपुग्दै मेरी आमा वित्नुभयो । उनको अनुहार कस्तो छ पनि थाहा छैन मलाई । आमा कहाँ छिन भन्दा सबैले चन्द्रमामा छिन् भन्थे । अनि त्यो बेला म सोच्थें म एउटा घरबाट अर्को अग्लो घरमा उफ्रेर जानेछु । त्यसो गर्दै सगरमाथाको टुप्पोमा पुगेर त्यहाँबाट सोझै चन्द्रमा पुगेर मेरी आमालाई भेट्नेछु । यही सोचले मलाई आज सगरमाथा पु¥याएको हो’ उनले यसो भनिरहँदा ओँठबाट हाँसो देखाई आँखामा आँसु पुछ्दैथिइन् । यो माहौलमा उनी आफुमात्र भावुक भइनन्, सभामा उपस्थित सबै नै भावुक बनेका थिए ।उनले यसो भनिरहँदा आफुमात्र भावुक भइनन्, सभामा उपस्थित सबै नै भावुक बनेका थिए ।
पत्रकार दबू, काठमाडौं जिल्लाले आज काठमाडौंमा आयोजना गरेको चौथो साधारण सभामा महिला पत्रकार सगरमाथा आरोही रोजिता बुद्धाचार्यलाई सम्मान गरेको हो । कार्यक्रममा उनीलाई पत्रकार दबू, काठमाडौं जिल्लाका अध्यक्ष नातिकाजी महर्जनले दोसल्ला ओढाए भने प्रेस काउन्सील नेपालका का.वा. अध्यक्ष किशोर श्रेष्ठले सम्मान पत्र प्रदान गर्नुभयो ।
सम्मान ग्रहण गरिसकेर सबैको साथ, सहयोग र हौसलाको कारण नै आफुले सगरमाथा चढ्न सफल भएको बताइन् । साथमा उनले सगरमाथा आरोहणमा जानु पूर्व र आरोहणको क्रममा गर्नुपरेको संघर्ष, भोग्नुपरेका पीडा पनि बाँडिन् ।
प्रेस काउन्सील नेपालका का.वा. अध्यक्ष किशोर श्रेष्ठले पत्रकारिताको धर्म निर्वाह गर्दै कलम चलाउन केहि डर लिनुनपर्ने बताउनुभयो । यहि भाद्र १ गतेबाट लागू भएको आचारसंहिताको बारेमा बोल्दै स्वच्छ पत्रकारिता गर्न कसैले पनि रोक्न वा छेक्न नसक्ने उनले बताउनुभयो । पत्रकारिताको नाममा धन्दा चलाउनेहरुका लागी आचारसंहिताको आवश्यकता भएको भन्दै अध्यक्ष श्रेष्ठले पत्रकारिताको धर्मभित्र रहेर चलाइने कलमलाई पनि रोक्न खोजिए त्यसको विरुद्ध प्रेस काउन्सिल उभिने बताउनुभयो ।
गोरखापत्र राष्ट्रिय दैनिकका नि.प्रधान सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ले समस्त नेवाः पत्रकारहरु संगठित भई क्षेत्रको वृहत्तर विकासमा लाग्नुपर्ने बताउनुभयो ।
जिल्ला उपाध्यक्ष बिराजकाजी राजोपाध्यायले दबूले पहिलो नेपालभाषाको दैनिक पत्रिका नेपालभाषा पत्रिकाका प्रकाशक सम्पादक फत्तेबहादुर सिंहको नामबाट आगामी वर्षदेखि सिंह पत्रकारिता पुरस्कारको शुरुवात गरिने जानकारि दिनुभयो । साथमा चाँडै नै नेवाः मिडिया कप फुटसल आयोजना हुने जानकारी पनि उपाध्यक्ष राजोपाध्यायले दिनुभयो ।
दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनमा संगठनभित्र विभिन्न समस्याहरु भइरहन सक्ने तर समस्याहरुलाई समाधान गर्दै अघि बढ्दै जानुपर्नेमा जोड दिनुभयो ।
जिल्ला अध्यक्ष नातिकाजी महर्जनले जिल्लाभरिका समस्त नेवाः पत्रकारलाई दबूभित्र गोलवद्ध भएर हातेमालो गर्दै पत्रकारिता क्षेत्रको विकासको साथै पत्रकारको सीप, क्षमता अभिवृद्धिको लागी संगठित हुन आव्हान गर्नुभयो ।
Categorized in समाज