सम्पदा अभियन्ता कायस्थको घरमा प्रहरीको सर्च
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७५ चैत्र ५, मंगलबार

सम्पदा संरक्षणको साथमा जातीय समानताको पक्षमा आवाज उठाउँदै आएका अभियन्ता यादवलाल कायस्थको घरमा प्रहरीले सर्च गरेको छ । अवैध सामग्री घरमा राखेको भन्दै प्रहरीले सोमबार राती आई कायस्थको घरमा सर्च गरेका थिए ।
सर्चका लागी दुइवटा भ्यानमा प्रहरी आएका थिए । घरमा खानतलासीका क्रममा केही अवैध सामग्री पनि नभेटिएको बताइएको छ ।
सो समयमा कायस्थ भने घरमा थिएनन् । बेलुकी ७ बजे तिर आएका प्रहरीहरु राती अबेरसम्म पनि कायस्थको घर वरिपरि नै बसिरहेका थिए ।
समाचारडेस्कसँग कुरा गर्दै कायस्थले प्रहरीलाई आफु र आफ्नो परिवारलाई अनावश्यक तनाव दिन खोजेको बताएका छन् । ससाना बच्चाहरु र ज्येष्ठ नागरिक भएको घरमा राति आएर परिवारलाई अनावश्यक तनाव दिएको कायस्थले बताए ।
आफुले यहाँका आदिवासी समुदायको हक अधिकारको लागि उठाउँदै गरेको आवाज दबाउन आफुलाई झुठो आरोप लगाएर पक्राउ गर्न खोजेको यादवको दावी छ ।
यसैबीच, यादवलाई साइबर क्राइम अन्तर्गत फसाउन खोजेको दावी पनि अभियन्ताहरुले गरेका छन् । आदिवासीको हक अधिकारको विषयमा कायस्थले सामाजिक संजालमा लेखेका सामग्रीहरुको आधारमा कायस्थलाई साइबर क्राइम लगाउन खोजेको अभियन्ताहरुको दावी छ ।
कायस्थले सडक विस्तार, २२ तले धरहराको निर्माण, छायाँ कम्प्लेक्स आदीको विरोधमा सामाजिक संजालमा लेखेका छन् । गलतलाई गलत भन्न पाउने संविधानले दिएको अधिकारमात्र आफुले प्रयोग गरेको र आफुले कुनै गैरकानूनी काम नगरेको दावी कायस्थले गरेका छन् । यसरी आफुहरुलाई झुठो आरोप, अनावश्यक तनाव दिएर दवाउन खोजेर आफुहरुको आन्दोलन नरोकिने कायस्थले बताए ।
आदिवासीको हक अधिकारको पक्षमा बुलन्द आवाजलाई दबाउनका लागी सुनियोजित रुपमा षडयन्त्र भइरहेको सम्पदा अभियन्ता र सडक विस्तार विरुद्ध लागेका अभियन्तहरुले दावी गरेका छन् ।
राज्यले उपत्यकाका आदिवासी, रैथानहरुलाई विस्थापित नै गर्न खोजेको दावी गर्दै अभियन्ताहरुले यसको विरोधमा आफुहरु लागि नै रहने बताएका छन् । सर्वोच्च अदालतले समेत विना क्षतिपुर्ति कसैको घर वा भौतिक सम्पत्ति नभत्काउन आदेश दिइसकेर पनि राज्यले जथाभावि डोजर चलाइरहेको अवस्थामा साइबर क्राइमको डरले आफुहरु चुप नलाग्ने उनीहरुको भनाई छ ।
Categorized in समाज