सरकार र डा. केसी पक्षबीचको वार्ता भंग
SamacharDesk – समाचारडेस्क | २०७५ श्रावण १०, बिहिबार

सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता विना निष्कर्ष टुङ्गिएको छ ।
चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्न सरकारी पक्षले नमानेपछि मंगलबार शिक्षा मन्त्रालयमा भएको वार्ता भंग भएको हो ।
यता, डा. केसी पक्षले आफूहरु डा. केसीको ‘बटमलाइन’बाट पछि हटेर अत्यधिक लचकता देखाएपनि चिकित्सा शिक्षा विधेयकका संशोधन गर्नुपर्ने बुँदाहरुमाथि सरकारी पक्षले छलफल नै गर्न नचाहेको बताएको छ ।
मंगलबार साँझ सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकका संशोधन गर्नुपर्ने बुँदाहरु मागेपछि केसी पक्षले २२ बुँदा अघि सारेको थियो ।
तर, बुधबारको वार्तामा सरकारी पक्ष ती २२ बुँदामा प्रवेश नै गर्न नचाहेको डा. केसी वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंह र सदस्य अधिवक्ता सुरेन्द्र भण्डारीले बताए ।
वार्ताको नाममा सरकारले आफुहरुलाई अल्मल्याउन मात्र खोजेको डा. केसी वार्ता टोलीको आरोप छ । ‘डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको अवस्थामा थप अलमल गरेर डा. केसीको स्वास्थ्यलाई झनै जोखिममा पर्न हामी तयार छैनौं ।’ डा. केसीको वार्ता टोलीका संयोजक अभिषेकराज सिंहको भनाई थियो ।
डा. केसीको वार्ता टोलीले आफूहरुको २२ बुँदे सूचीका आधारमा चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।
सरकारले भने राजनीति भएका कारण डा. केसीसँगको वार्ता असफल भएको जनाएको छ ।
वार्तामा विवेकशील साझाका दुईजना मान्छे आएको र सहमति नजिक पुगिसकेको विषय उनीहरुले नै उल्टाएको सरकारी पक्षको दावी छ ।
डा. केसीको वार्ता टोलीमा अभिषेकराज सिंह, जीवन क्षेत्री, डा. सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्याल सहभागी थिए । सरकारको संकेत भण्डारी र अर्यालतिर हो ।
सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले चिकित्सा शिक्षा विधेयक संसदीय प्रणालीअनुसार नै अघि बढ्ने भन्दै आफूहरुले संसदको कार्यक्षेत्र नाघ्न नसक्ने बताए ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपाका शीर्ष नेताहरुबीच विभिन्न चरणमा छलफल भएपछि दुई पक्षबीच वार्ता सुरु भएको थियो । तर, बुधबार भएको वार्ता भने एकाएक भङ्ग भएको हो ।
Categorized in राष्ट्रिय