सांसद् श्रेष्ठलाई नागरिक सम्मान
SamacharDesk – पोलिटिक्स ब्यूरो | २०७५ चैत्र ३, आइतबार

संघीय समाजवादी फोरम नेपालका सह अध्यक्ष, सांसद् राजेन्द्रप्रसाद श्रेष्ठले मातृभाषा शिक्षा लिन पाउनु सबैको नैसर्गिक अधिकार भएको बताउनु भएको छ । नेपालको पहिचान बनेको बहुल भाषा, संस्कृतिको संरक्षण गर्नको लागी अनिवार्य मातृभाषा शिक्षालाई कार्यान्वयनमा लग्नुपर्ने सांसद् श्रेष्ठको भनाई हो ।
काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै सांसद् श्रेष्ठले अब प्रत्येक विद्यालयमा मातृभाषा पनि समावेश गराउन स्थानीय तह सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए । माध्यामिक तहका विद्यालयहरु अब स्थानीय तह अन्तर्गत आइसकेको अवस्थामा मातृभाषा शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तहले योजना बनाई कार्यान्वयनमा जानुपर्ने श्रेष्ठले बताउनुभयो ।
सोही कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले नेपालको आदिवासी जनजाति समुदायको मातृभाषाको संरक्षण गर्नको लागी अब एकमात्र उपाय भनेको मातृभाषा शिक्षा नै भएकोमा जोड दिनुभयो ।
त्यसैगरी नेपालभाषा मंकाः खलः ललितपुरका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठ, जनजाति आन्दोलनका अगुवा डा.महेशमान श्रेष्ठले राज्यको एकल भाषा शिक्षा नीतिकै कारण नेपालका जनजाति मातृभाषाको अस्तित्व संकटमा पर्दै गएको विचार राख्नुभयो ।
नेवाः राजनीतिक अभियान लगायत १५ वटा संघसंस्थाबाट आयोजित कार्यक्रममा सांसद् राजेन्द्र प्रसाद श्रेष्ठलाई नागरिक सम्मान गरिएको थियो । सरकारबाट प्रस्तुत शिक्षा विधयेकमा मातृभाषा शिक्षाको प्रावधान थप गराउन सफल भएकोमा सांसद् श्रेष्ठलाई काठमाडौंमा सम्मान गरिएको हो ।
संघीय संसद्मा सरकारबाट प्रस्तुत शिक्षा विधयेकमा सांसद् श्रेष्ठले संशोधन प्रस्ताव राख्दै मातृभाषा शिक्षाको बुँदा थप गराउन सफल भएका थिए । श्रेष्ठले विधयेकमा मातृभाषाबाट शिक्षा लिनपाउने र यसको व्यवस्थापन सरकारबाटै हुनुपर्ने संशोधन सहितको प्रस्ताव राखेका थिए ।
आज आयोजित कार्यक्रममा सांसद् श्रेष्ठलाई जनकवि दुर्गालाल श्रेष्ठले सम्मान पत्र सहित सम्मान गरेका थिए । नेवाः राजनीतिक अभियान सहितको आयोजक १५ वटा संघसंस्थाका प्रतिनिधीहरुले श्रेष्ठलाई खादा ओढाई सम्मान गरेका थिए ।
