arin enterprises

सागमा सुरक्षाका लागि १९ हजार सुरक्षाकर्मी खटाइने

SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ मङ्सिर १२, बिहिबार

१३औं दक्षिण एसियाली खेलकुद सागमा सुरक्षा व्यवस्थाको लागि १९ हजार सुरक्षाकर्मीको व्यवस्था हुने भएको छ । 

साग प्रचारप्रसार तथा प्रकाशन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै सागको सुरक्षा व्यवस्था बारे जानकारी दिएको हो ।

साग सुरक्षा समिति संयोजक प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चारै सुरक्षा निकायका १८ हजार ९ सय ३३ सुरक्षाकर्मी परिचालन गरिने बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाभित्र १६ हजार र बाँकीले पोखरा र जनकपुरमा सुरक्षा दिने जानकारी दिनुभयो ।

महानिरीक्षक खनालका अनुसार सुरक्षा संवेदनशीलता हेरेर सिभिल पोशाकमा पनि सुरक्षाकर्मीहरुले सुरक्षा दिइरहने छ भने सीसीटिभीबाट समेत निगरानी गरिनेछ ।

आवश्यकताअनुसार सुरक्षाकर्मी थप्न पनि सकिने खनालको भनाई हो । 

खनालले विदेशी पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि खेल सकिएर विमानस्थलसम्मै पु¥याउने व्यवस्थाका क्रममा सबैलाई सुरक्षा प्रदान गरिने बताउनु भयो । 

सुरक्षा र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन भन्दै सागको उद्घाटन र समापनका दिन काठमाडौं उपत्यकामा सवारी साधनमा जोर विजोर प्रणाली लागु गरिने भएको छ । 

उद्घाटनको दिन १५ गते विजोर र समापनको दिन २४ गते जोर नम्बर प्लेटका सवारीसाधन मात्र चलाउन पाइने छ । 

महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापन सहज बनाउन सकभर सवारीको प्रयोग कम गर्न पनि आग्रह गर्नुभएको छ ।

Categorized in स्पाेर्ट्स