स्टार म्यूजिक भिडियो अवार्डको तयारी पूरा
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ माघ ६, सोमबार

नेपालभाषाको चलचित्र क्षेत्रको सबैभन्दा ठुलो अवार्डको रुपमा दावी गरिएको ‘नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डस् ११४०’को ग्राण्ड फिनाले कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संसार क्रिएसनले पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा संसारका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र महर्जनले कला क्षेत्रमा समर्पित सम्पूर्ण कलाकार र प्राविधिकको सम्मानमा अवार्डको आयोजना गर्न लागिएको बताउनुभयो ।
माघ १० गते शुक्रवारका दिन प्रज्ञाभवनमा ग्रान्ड फिनाले कार्यक्रम हुन गइरहेको छ । ग्रान्ड फिनाले कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको समेत उपस्थिती रहने जानकारी दिइएको छ ।
महर्जनले ग्रान्ड फिनालेमा विभिन्न साँस्कृतिक प्रस्तुतिसँगै करीब ४० वटामा विधामा अवार्ड वितरण गरिने जानकारी पनि दिनुभयो ।
७ सदस्यीय निर्णायक मण्डलबाट दिइने अङ्कको साथमा अनलाइन भोटिङ्ग र एसएमएस भोटिङ्गको आधारमा अवार्ड विजेताको घोषणा गरिने बताइएको छ ।
संगीत र म्यूजिक भिडियोतर्फ विभिन्न विधामा अवार्ड दिइनुको साथै जन संगीत स्रष्टा अमरराज शर्मा राजोपाध्यायलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइने भएको छ ।
साथै संसार सप्तरंगी सम्मानबाट बरिष्ठ निर्देशक पवन जोशी, बरिष्ठ संगीतकर्मी मनराजा नकर्मी, बरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, नायिका हिसिला महर्जन, पहिलो जनजाति नायक जय श्रेष्ठ, बरिष्ठ गायक जुजुकाजी रंजित र बरिष्ठ मेकअप आर्टिष्ट सनमकुमार श्रेष्ठलाई दिइनेछ । त्यसैगरी संसार मल्टिपर्पोज सम्मान पत्रकार साथै म्यूजिक भिडियो डाइरेक्टर, ललेन्द्र शाक्यलाई प्रदान गर्न लागिएको छ ।
Categorized in पेजथ्री