arin enterprises

स्वजनको एकल साँझ ऐतिहासिक रुपमा सम्पन्न

SamacharDesk – समाचार डेस्क | २०७५ आषाढ ३, आइतबार

नेपालमै पहिलो नृत्य विधाको एकल कार्यक्रम ‘स्वजन रघुवंशी एकल साँझ’ भव्यताका साथ सम्पन्न भएको छ । लाईभ वाद्यवादन र गायनसँगै विभिन्न ७ विभिन्न फर्मका नृत्यहरु प्रस्तुत गर्दै कलाकार स्वजन रघुवंशीको एकल साँझ राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो ।

कार्यक्रमको शुरुवात कलाकार स्वजन रघुवंशीले नमस्कार नृत्यबाट गरेका थिए । लोक नृत्यको साथै कथक र भरतनाट्यमको नमस्कार र कार्तिक नाचको द्यः ल्हायेगुबाट कलाकार रघुवंशीले गुरु, मातापिता, इष्टदेव, नाटेश्वर, वाद्यवादक, जल, वायू, पृथ्वी, अग्नि, आकाश, दर्शक, कर्मभूमि सम्पूर्णलाई वन्दना गरे । 

नेपालमै पहिलो पटक नृत्य विधामा एकल साँझको आयोजनाले यो कार्यक्रम ऐतिहासिक त बनेको थियो नै । साथमा दुइवटा पराम्परागत सांस्कृतिक नृत्यहरु पहिलो पटक मञ्चमा प्रस्तुत भएर पनि यो कार्यक्रमले ईतिहास रच्यो ।

हरेक कार्तिकमा मात्र र मंगलबजारस्थित कार्तिक डबलीमा मात्र प्रदर्शन हुँदै आएको कार्तिक नाच पहिलो पटक मंचमा प्रस्तुत गरीयो । कार्तिक नाचकै वाद्यवाद टोलिसँगै मञ्चमा पहिले कृष्णगणको नृत्य प्रस्तुत गरीयो भने पछि कलाकार स्वजनले कुमार नृत्य प्रस्तुत गरे । यो नृत्य कार्तिक नाच अन्तर्गतको उषाहरण लीलाको एक अंश हो । 

‘विश्वको सवैभन्दा प्राचीन वियोगान्त नृत्यको रुपमा गिनिज बुकमा दर्ता भएको ग्रीकको ट्र्याजिक डान्स फर्म अहिले लोप भइसकेको अवस्था छ । ट्र्याजिक फर्मकै कार्तिक नाच अहिलेसम्म निरन्तर चलिरहेको छ । यो हाम्रो गौरव हो ।’ शताब्दि पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीले कार्तिक नाचको ऐतिहासिक पक्ष कोट्याउँदै गर्व महसूस गर्नुभयो ।

सोही कार्यक्रममा चर्या नृत्य अन्तर्गतको पंचकपाल नृत्य पनि पहिलो पटक मंचमा प्रस्तुत गरीएको थियो । गुह्य रुपमा रुपमा प्रस्तुत हुने चर्या अन्तर्गतको यो नृत्य वौद्ध परम्परा अन्तर्गत महायान सम्प्रदायभित्र लिइन्छ । पहिलो पटक मञ्चमा प्रस्तुत गरीएको यो परम्परागत सांस्कृतिक नृत्यको नृत्य निर्देशन भने संजय शर्मा राजोपाध्यायले गरेका थिए ।

मादलको तालमा झ्याउरे नृत्यको प्रस्तुतिमा रघुवंशीले दर्शकको जोडदार तालीको साथमा वान्स मोर सम्म पनि पाए । भारतको इलाहावाद विश्वविद्यालयबाट कत्थक नृत्यमा गोल्ड मेडल प्राप्त गरेका स्वजनले कार्यक्रममा भरतनाट्यम नृत्य त प्रस्तुत गरे नै, साथै पाश्चात्य नृत्य साल्सा डान्समा समेत दर्शकलाई मुग्ध बनाए । साल्सामा स्वजनलाई कलाकार कृपा बज्राचार्यले साथ दिएका थिए । 

कृष्णद्वारा कालिया नाग दमनको कथा समेटिएको कत्थक नृत्यमा त स्वजन लगातार १८ मिनेट नाचे । अन्तिममा संसारभरीका सबै आमालाई श्रद्धा र आदर प्रकट गर्दै स्वजनले आमा नृत्य प्रस्तुत गर्दै आफ्नो प्रस्तुति सम्पन्न गरे । आमा नृत्य सम्पन्न हुँदाको समयमा कलाकार स्वजन रघुवंशीकै माता कृष्णशोभा रघुवंशीको मंचमा आगमनपछि माहौल भावुक बनेको थियो ।

कार्यक्रममा नृत्य निर्देशक हनी श्रेष्ठले एकै व्यक्तिले गाएर अथवा बजाएर एकल साँझ गर्नुभन्दा नृत्यमा एकल साँझ गर्नु निकै गार्हो रहेको बताउनुभयो । ‘यो अरु गायन वा वादनमा जस्तो सजिलो कुरा होइन । एकै व्यक्तिले श्रृङ्गार र भेषभुषामा समेत विविधता देखाउँदै विभिन्न फर्मका नृत्यहरु प्रस्तुत गर्दै नाच्नु भनेको साधारण विषय होइन । नृत्यमा एकल साँझ जो कोहीले आँटन् सक्ने विषय पनि होइन । तर स्वजन रघुवंशी यसमा सफल भएका छन् ।’ नृत्य निर्देशक श्रेष्ठले स्वजन रघुवंशीले खुलेर प्रशंसा गरेका थिए । 

नृत्य निर्देशक संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले कलाकार वा कला क्षेत्र देशको गहना नभएको दोहोर्याउँदै राज्यले कला क्षेत्रलाई पाँचौ अंगको रुपमा परिभाषित नगरेसम्म कला क्षेत्रको समुचित विकास हुन नसक्ने कुरामा जोड दिनुभयो । देशैभरका नृत्य निर्देशकहरु संगठित भई नृत्य निर्देशक संघ नेपाल गठन भएको दिन श्रावण २६ लाई राष्ट्रिय नृत्य दिवसको रुपमा घोषणा गर्न संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले राज्यसँग माग गर्नुभयो ।

वाङमय शताब्दि पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशी र नृत्य विधामा नेपालका प्रथम महिला प्राध्यापक हनी श्रेष्ठबाट नाटेश्वरको मूर्तिमा पूजा गर्नुका साथै पानसमा बत्ती बालेर कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरीएको थियो । कार्यक्रममा कलाकार स्वजन रघुवंशीको परीचयात्मक भिडियो पनि प्रदर्शन गरीएको थियो । कार्यक्रम नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखा र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा भएको थियो ।

Categorized in पेजथ्री