arin enterprises

हात्तीसारमा ढुङ्गेधाराको खोजी शुरु

SamacharDesk – कल्चर ब्यूरो | २०७६ मङ्सिर ५, बिहिबार

काठमाडौं हात्तिसारको एक निजी जग्गामा पुरातात्विक र ऐतिहसिक महत्वको ढुंगेधाराको खोजीको लागि उत्खनन् शुरु भएको छ । सम्पदा अभियन्ताहरुको सक्रियतामा बिहिबारबाट उत्खनन् थालिएको हो ।

विहिबार उक्त जग्गामा डोजरले खन्दै जाँदा ढुंगेधारा रहेको भनिएको ठाउँमा ढुंगेधाराको पर्खाल र भुइँ प्राप्त भएको छ भने पानी पनि निस्किएको छ ।

जग्गाधनीको सहयोगमा महानगरपालिका, पुरातत्व विभाग र स्थानीय बासिन्दाको रोहवरमा ढुंगेधारा उत्खनन्को काम भइरहेको हो ।

उत्खनन्को निरिक्षण गर्न आइपुगेका वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले समाचारडेस्कसँग कुरा गर्दै आफुले विगतमा उक्त स्थानमा धारा रहेको दावी गर्दै सोही धारामा आफुले नुहाउने गरेको बताए ।

वि.सं. २०५१ सालमा पनि उक्त जग्गामा घर बनाउन नक्सा पासको प्रक्रिया अगाडी बढाउन खोजिँदा वडाबाट रोक्का गरिएको थियो । 

उक्त समयमा उक्त जग्गामा निर्माण कार्य रोक्का गर्नको लागि स्थानीयको एक समूहले निवेदन दिएका थिए । सोही समूहका एक दिवश ढुङ्गेलले पनि सो स्थानमा आफुले पनि ढुङ्गेधारा देखेको बताए ।

५१ सालको उक्त मुद्दालाई प्रत्यक्ष हेरेका तत्कालीन वडा सदस्य पुरुषोत्तम खकुरेलले पुरातात्विक ऐतिहासिक महत्वका सम्पदा मासेर जग्गा हडप्ने नियोजित षडयन्त्र नै भएको दावी गरे । विगतमा कायम रहेको ढुङ्गेधारा हाल आएर नापीबाट समेत हराएको खकुरेलको भनाई थियो ।

२४ आना ३ पैसा ३ दाम रहेको उक्त जग्गा २०७२ सालमा बुद्धिलक्ष्मी गुरुङले किनेको जनाइएको छ । शुरुमा बीरशमसेर जबराको नाममा रहेको जग्गा शाक्य परिवारले किनेको र शाक्यबाट तेजराज मानन्धर हुँदै अहिले गुरुङले किनेको जानकारी पूर्व वडाध्यक्ष किरण श्रेष्ठले दिनुभयो ।

भोलि बिहान १० बजेबाट फेरी उत्खनन् कार्यलाई निरन्तरता दिइने जनाइएको छ ।

Categorized in संस्कृति