१६ वडालाई सांस्कृतिक वडाको रुपमा विकास गरिने
SamacharDesk – सोसियल ब्युरो | २०७५ आषाढ ३१, आइतबार

ललितपुर महानगरपालिका वडा नं १६ लाई सांस्कृतिक र पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गरिने भएको छ ।
वडाका विभिन्न टोल सुधार समिति, महिला समूह, विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागितामा आयोजना भएको वडा भेलामा वडाध्यक्ष निर्मलरत्न शाक्यले वडालाई सांस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षको प्रस्तावित योजनाहरु प्रस्तुत गर्दै वडाअध्यक्ष शाक्यले वडालाई सांस्कृतिक र पर्यटन विकासको नमूना वडाका रुपमा विकास गर्ने लक्ष्यले योजनाहरु अघि सारिएको जानकारी दिनुभयो ।
समग्र नगरलाई नै सांस्कृतिक र पर्यटकीय नगरी बनाउने लक्ष्यलाई ध्यानमा राखेर वडाले आगामी आर्थिक वर्षमा नियमित पूर्वाधार निर्माण, पार्क निर्माणसंगै संस्कृति संरक्षण र पर्यटन विकास कार्यलाई अघि सारेको छ ।
वडाले हस्तकला व्यवसायीहरुलाई प्रर्वद्धन गर्ने उद्देश्यले बृहत हस्तकला मेला, परम्परागत बाजागाजा, जीवनशैली, संस्कार नेपाल भाषा, लिपिको संरक्षण गर्न र अध्ययन गर्नेहरुलाई लक्षित गरी नेवार लघु सांस्कृतिक संग्रहालय स्थापना गर्ने पनि जनाएको छ ।
त्यसैगरी रञ्जना लिपि, देवनागरी र अंग्रेजी नामाकंन बोर्ड राख्न योजना पनि वडाले अघि सारेको छ । चालू आर्थिक वर्षमा वडाको विकासको लागि ५० लाख विनियोजित गरिएकोमा आगामी आर्थिक वर्षका लागि १ करोड ५० लाख विनियोजित गरिएको छ ।
साविकको १६ र १८ लाई गाभिएर बनाइएको हाल १६ वडा विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्रसहित महत्वपूर्ण सम्पदा र संस्कृतिले भरिएको छ ।
सो अवसरमा सहभागीहरुले विकास कार्यलाई सन्तुलित, दिगो विकासको अवधारणाले अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
समारोहमा ३ नं प्रदेशसभाका सदस्य शोभा शाक्यले ललितपुरको विकासको आधार नै संस्कृति र पर्यटक रहेकोले वडाले सोही अनुरुप योजना अघि सारेको बताउँदै कार्यान्वयनमा जोड दिनुभयो ।
वडाका सल्लाहकार डा. सुमित्रा अमात्यले विकासले पर्यावरण, संस्कृतिमाथि पर्ने नकारात्मक प्रभावलाई हेरेर दिगो विकासको अवधारणा अनुरुप अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा वडा सदस्य विजय महर्जन, सुप्रभा शाक्यले वडा समितिले सहभागितामूलक विकासलाई जोड दिएकोमा केन्द्रीत गर्दै आ आफनो धारणा राख्नुभयो ।
Categorized in समाज