arin enterprises

१६ वडा युवामैत्री बजेटको तयारीमा

SamacharDesk – समाचारडेस्क – सोसियल ब्युरो | २०७५ आषाढ १५, शुक्रबार

ललितपुर महानगरपालिका १६ वडाले वडाको विकासका लागी युवाको परिचालन गर्न भन्दै युवामैत्री बजेट ल्याउने तयारी गरेको छ । 

शुक्रबार ललितपुरमा आयोजित ‘युवा तथा स्वयम्सेवक भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्यले वडाको विकासमा युवाको भूमिका महत्वपूर्ण हुने भन्दै वडाले युवामैत्री बजेटको तयारी गरिरहेको जानकारी दिनुभयो ।

स्थानीय तहमा जनप्रतिनिधिको आगमनलगत्तै युवा भेला गरी स्वयम्सेवक दल गठन गरेको बताउँदै वडाध्यक्ष शाक्यले अब तीनै युवाहरुको स्वयम्सेवक दललाई आधिकारीक रुप दिइ वडाको विकासमा परिचालन गर्ने भन्नुभयो । वडाभित्रका अवसर र चुनौतीको पहिचान गरी नीतिगत तहमै योजना तर्जुमा गर्ने योजना पनि शाक्यले सार्वजनिक गर्नुभयो ।

आफुले वडामा विभिन्न वर्ग, क्षेत्र, समूहभित्रका समस्या, मागको पहिचान गर्दै सोही अनुसारले कार्यक्रमको योजना बनाइरहेको जानकारी पनि शाक्यले दिनुभयो । क्षेत्रगत दृष्टिकोणले लक्षित, महिला लक्षित, पेशागत दक्षताको विकास लक्षित कार्यक्रमहरु वडाबाट आयोजना हुँदै आएको बताउँदै सम्पूर्ण क्षेत्रमा युवाको भूमिका महत्वपूर्ण रहनेमा शाक्यले जोड दिनुभयो ।

अन्तर्क्रिया कार्यक्रममा सामाजिक उद्यमी एवम् पर्यटनविद् अनिल चित्रकारले सहजीकरण गर्नुभएको थियो । चित्रकारले सहभागी युवाहरुको समूह बनाई समूहगत छलफल, अन्तक्र्रिया गराउनुभएको थियो ।

मन्तव्यको क्रममा सामाजिक उद्यमी चित्रकारले ललितपुरमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै पर्यटकको आगमन भने कम संख्यामा हुने गरेको तथ्याङ्क सुनाउनुभयो । अब युवाले आफ्नो सोचको तरिकामा परीवर्तन ल्याउँदै आफ्नै व्यक्तित्व विकास गर्दै टोल, समुदाय र वडाको विकासमा टेवा दिनुपर्ने सुझाव दिनुभयो । वडाको विकासका लागी युवाहरुले स्थानीय श्रोत साधनको पहिचान गर्दै त्यसलाई समय सापेक्ष सदुपयोग गर्ने सोचमा अगाडि बढ्नुपर्ने चित्रकारको भनाई थियो ।

कार्यक्रम संयोजक विजय महर्जन, सल्लाहकार संयोजक दीलिप जोशी लगायतले समुदाय एकजुट भई समृद्धि प्राप्त गर्न सकिनेमा जोड दिनुभयो ।

Categorized in समाज