arin enterprises

७२औं प्रजातन्त्र दिवस मनाईंदै

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ७, शनिबार

७२औं राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । जनता रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते सो दिवस मनाउने गरिन्छ ।

यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । विसं २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो

यस अवसरमा विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । दिवसका अवसरमा अन्य सङ्घ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरुपमा दिवस मनाउन आह्वान गरेको छ । तीन दिनसम्म साँझ दीपावली पनि गरिनेछ । प्रजातन्त्र दिवसलाई विसं २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रुपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी हुन सफल भएको थियो ।

प्रजातन्त्र दिवसको अवसरमा टुंडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुँदै स्थानीय तहको निर्वाचन लगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गइरहेको उल्लेख गर्दै त्यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरूबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जाने सरकारको योजना रहेको बताए  ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।

 

Categorized in राष्ट्रिय