‘पानीजहाजको आलोचना गर्नेलाई पुषमा जहाज चढाउँछु’
SamacharDesk – समाचारडेस्क – पोलिटिक्स ब्युरो | २०७५ आषाढ १५, शुक्रबार

असार १४ गते, तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्मदिन । भण्डारीको जन्मजयन्तीको अवसर पारेर आज विभिन्न कार्यक्रमको आयोजना गरीएको छ ।
भण्डारीको ६७औं जन्मजयन्तीको अवसरमा विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफूले नाकाबन्दीको युग समाप्त गरेको दावी गर्नुभयो । उनले अबदेखि छिमेकी मुलुकको हेपाहा प्रवृत्ति सहन नपर्ने जिकिर गरे ।
पानीजहाजको कुरा गर्दा विरोध गर्नेहरुलाई प्रधानमन्त्री ओलीले आगामी पुस १६ मा पानीजहाज चढेर कोलकाता जान निम्ता दिए । एक दुइ दिन यताउति भएपनि पुषमै पानीजहाज चल्ने दावी प्रधानमन्त्री ओलीको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकलाई समाजवादतर्फ उन्मुख गराउन सकेमात्र कम्युनिस्ट पार्टी एकीकरणको औचित्य पुष्टि हुने धारणा राखे । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकलाई आर्थिक रुपमा सक्षम बनाउन सकेमात्र समाजवादको दिशातर्फ जान सकिने धारणा राखे ।
कार्यक्रममा कांग्रेस नेत्री सुजाता कोइरालाले मुलुकको विकासका निम्ति सरकारलाई सधैं सहयोग रहने भन्दै सरकारले पनि प्रतिपक्षको समर्थन जुटाउन सक्नुपर्ने बताइन् ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा र पर्वतारोही लाक्पा शेर्पालाई मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको थियो ।
नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीको जन्म वि.सं. २००९ साल असार १४ गते पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारीको माहिला छोराको रुपमा ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो ।
बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो। जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि शव भेटिएको थियो। यो घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि यो दुर्घटना आजसम्म पनि रहस्यको गर्भमै लुकेर रहेको छ ।
Categorized in राजनीति