arin enterprises

‘लिबाय् धुंकाः’ ज्येष्ठ ३० मा आउने

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ जेठ ७, मंगलबार

अडियो भिडियो स्टेशन प्रा.लि. को ब्यानरमा बन्दै गरेको नेपालभाषाको चलचित्र ‘लिबाय् धुंकाः’ आउँदो ज्येष्ठ ३० गते रिलिज हुने भएको छ । पोष्ट प्रोडक्सनको सम्पूर्ण काम पूरा भएसँगै ज्येष्ठ ३० गते रिलिजको लागि चलचित्रको टिम जुटेको हो ।

राजेशमान सिंहले निर्देशन गर्नुभएको चलचित्रको मूख्य कलाकारमा आशाकाजी थकु, आरएल महर्जन, नारायणदेवी प्रधान, आराध्यालक्ष्मी खड्गी, मन्जु श्रेष्ठ, भीसमेन रिजाल, कुमार कार्की, उत्तम खत्री, सुरज श्रेष्ठ (बकंफुस्लु), राजाराम भाम रहेका छन् ।

निर्देशक राजेशमान आफैंले पनि चलचित्रमा अभिनय गरेका छन् । साथमा चलचित्रको कथा, स्क्रीनप्ले, डायलग र गीत रचना समेत राजेशमानकै रहेको छ । यति मात्र होइन, पियूष कायस्थ र किर्तिश्यामसुन्दर जोशीको साथमा राजेशमानले चलचित्रको दृश्य सम्पादनसम्म पनि गर्न भ्याएका छन् ।

‘विशेषतः यो सामाजिक चलचित्र हो, तर यसमा लबस्टोरीको साथमा कमेडी एक्सन, सस्पेन्स पनि रहेको छ ।’ निर्देशक सिंहले भन्नुभयो, ‘पूर्ण रुपमा मनोरन्जन दिने यस चलचित्रले दर्शकको मन जित्नेछ भनेर विश्वस्त छु ।’

चलचित्रमा दुइवटा गीत समावेश गरिएको छ । सुमन कपालीको संगीत रहेका गीतहरुमा कपाली आफैं र साथमा सानुवावु महर्जन, रत्नशोभा महर्जनले स्वर दिएका छन् ।

कोरीयोग्राफी भने आराध्यालक्ष्मी खड्गीको रहेको छ । नेपालभाषाको कलाकारिता क्षेत्रमा अहिले चर्चित नायिका र नृत्यकार खड्गीको कोरीयोग्राफरको रुपमा यो पहिलो चलचित्र हो ।

‘धेरै मेहनत गरेकि छु । कोरीयोग्राफरको रुपमा पहिलो चलचित्र रिलिज हुन लागेको छ । अलि उत्साहित पनि छु र किन हो अलि डर लागेको हो कि जस्तो पनि भइरहेको छ’ खड्गीले भनिन् ।

Categorized in पेजथ्री