‘सिङ्गो उपत्यका एउटा यूनिटको रुपमा अघि बढ्ने हो’
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ बैशाख ६, शनिबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विश्वभरी महामारीको रुपम लिइरहेको कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सिङ्गो उपत्यकालाई नै एउटा यूनिटको रुपमा हेरिनुपर्ने बताउनुभएको छ ।
उपत्यका मेयर फोरमका संयोजक समेत रहेका कामपा मेयर विद्यासुन्दर शाक्यले अहिलेको विषम परिस्थितीमा आपसी सहयोग र सहकार्य गर्दै अघि बढ्नुपर्ने भएकोले एउटा स्थानीय तह वा एउटा जिल्ला भनेर बस्न नसकिने बताउनुभयो ।
महामारीको रुपमा फैलिरहेको कोभिड १९को संक्रमण एक ठाउँमा एक जनालाई हुनेवित्तिकै त्यसले पुरै समाजलाई संक्रमित गर्ने सम्भावना भएकोले सबै एक भएर रोकथाम र नियन्त्रणमा लाग्नुको विकल्प नभएको शाक्यको भनाई हो ।
‘एउटा जिल्ला वा एउटा स्थानीय तह भनेर बस्यो भने टेकु अस्पताल काठमाडौंमा छ, यहाँ अरुलाई उपचार हुँदैन भन्न ठिक होला त ?’ कामपा मेयर शाक्यले भन्नुभयो, ‘त्यस्तै काठमाडौंका मान्छेहरुलाई भक्तपुर वा ललितपुरतिर क्वारेन्टाइन वा आइसोलेसनमा राख्नुपर्ने स्थिती नि आउन सक्छ ।’
यसै परिकल्पनलाई आत्मसाथ गर्दै उपत्यका मेयर फोरमले योजना अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
अहिलेको परिस्थितीमा स्थानीय तह, जिल्ला आदिको नाममा छुट्टिएर होइन, एक ढिक्का भएर अघि बढ्नुपर्ने भन्दै शाक्यले एक अर्कालाई साथ र सहयोग दिँदै सहकार्य गर्दै काठमाडौं साथै काठमाडौं उपत्यकार र सिङ्गो राष्ट्रलाई नै संक्रमणमुक्त बनाउने अभियानमा आफुहरु जुटेको बताउनुभयो ।
प्रशासनिकय कामकाजको लागि बनाइएको क्षेत्रभित्र अहिलेको परिस्थितीमा संकुचित हुन नसकिने शाक्यले भन्नुभयो ।
कागेश्वरी मनहरा नगरपालिकास्थित सनसिटि अपार्टमेन्टमा दुई जना संक्रमित देखिएसँगै उपत्यकाका सबै स्थानीय तहको सहकार्यको अपरिहार्यता झनै पुष्टि भएको पनि शाक्यको भनाई हो ।
शाक्यले भन्नुभयो, ‘अब कागेश्वरी मनहरा नगरपालिकामा संक्रमित देखियो, त्यहाँबाट मध्यपुर थिमि नगरपालिका जोडिएकै छ । भक्तपुर नगरपालिका पनि नजिकै छ । दुइ पाइलामा काठमाडौं महानगरपालिकाको साथै ललितपुर महानगरपालिका र ललितपुर जिल्लाका नगरपालिकालाई छुन्छ ।’
कागेश्वरी मनहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट फर्केका दुई जना कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भइसकेको छ ।
संक्रमणको रोकथाम र नियन्त्रणको लागि परिक्षणको दायरा बढाउनुपर्ने र आफुहरु यसैको तयारीमा लागेको शाक्यले बताउनुभयो ।
सरकारले आवश्यक सामग्री चाँडो उपलब्ध गराइदिए परिक्षणलाई तीव्रता दिएर संक्रमितको पहिचान गर्दै सुरक्षित वातावरणको निर्माण पनि गर्दै जाने शाक्यको योजना रहेको छ ।
अन्तर्राष्ट्रिय उडान बन्द भइसकेको अवस्थामा विमानबाट संक्रमण भित्रिने सम्भावना अब नरहेको तर भारतीय सीमानाकाबाट भने जोखिम रहेको शाक्यले बताउनुभयो ।
भारतीय सीमानाकाबाट लुकिछिपि नेपाल भित्रिने क्रम नरोकिँदा नेपालमा संक्रमणको जोखिम बढिरहेको उनको भनाई छ ।
कडाउन लम्बिएसँगै खाद्यान्नको अभाव हुन नदिनका लागि कसैले उपत्यका बाहिरबाट तरकारी, फलफुल लगायत खाद्यान्न ल्याउन चाहेमा कामपाले समन्वय गरिदिने पनि उहाँले भन्नुभयो ।
उपत्यका बाहिर तरकारी, फलफुल, दुध लगायतका खाद्य सामग्री खेर गइरहेको र काठमाडौंमा यसको आवश्यकता निकै रहेको अवस्था औंल्याउँदै मेयर शाक्यले उपत्यका बाहिरबाट खाद्य सामग्री काठमाडौं ल्याउन चाहनेलाई आफुले समन्वय गरिदिने बताउनुभयो ।
सरकारले लकडाउनलाई केही खुकुलो पार्दै विभिन्न आवश्यक उद्योगहरु संचालन गर्न लगाएकोले आवश्यकताको आधारमा किसानलाई खेतीपाती पनि गराउन सकिने तर सर्वसाधारण आफै सचेत भएर अघि बढ्नुपर्नेमा मेयर शाक्यले जोड दिए ।
Categorized in राष्ट्रिय