पाकिस्तानी क्रिकेट टिमका १० जनालाई कोरोना संक्रमण
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ९, मंगलबार

पाकिस्तानी क्रिकेट टिमका १० जना खेलाडीलाई मंगलबार कोरोना भाइरस (कोभिढ १९) संक्रमण पुष्टि भएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले सोमबार ३५ जनालाई कराँची, लाहोर र पेसावरमा कोरोना संक्रमणको परीक्षण गराएको थियो ।
परिक्षण अनुसार पहिलो चरणको नतिजामा सादब खान, हैदर अली, र हरिस राउफ गरि ३ जना क्रिकेटरलाई कोरोना संक्रमण देखिएको थियो ।
त्यस्तै, दोस्रो चरणको नतिजामा मोहमद हफिज, फखर जमान, मोहमद रिजवान, वाहेब रियाज, मोहमद हस्नइन र इमरान खान गरि थप ७ जना खेलाडीलाई पनि संक्रमण देखियो ।
एक जना अफिसियल स्टाफलाई पनि कोभिड १९ संक्रमण भएको छ ।
तर ३५ मध्ये २५ खेलाडीमा भने संक्रमण देखिएको छैन ।
कोभिड १९ संक्रमण लागेका दशैजना खेलाडीहरु अब आइसोलेसनमा बस्नेछन् ।
पाकिस्तानी क्रिकेट टिम अगस्टमा हुने तीन वटा टेस्ट र तीन टी(२० खेल्नका लागि आउँदो साता इंग्ल्यान्ड जाँदैछ । यहि जुन २८ मा लाहोरबाट म्यानचेस्टरका लागि टीम प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणअघि गरिएको परीक्षणमा पाकिस्तानका महत्वपूर्ण खेलाडीहरुमा कोभिड १९ संक्रमण देखिएपछि टिममाथि चुनौती थपिएको छ ।
संक्रमण देखिएका खेलाडीहरु अब इंग्ल्यान्ड जान पाउने छैनन् । उनीहरु १४ दिन आइसोलेसनमा बसेपछि नेगेटिभ नतिजा आए मात्र इंग्ल्यान्ड जान पाइनेछ ।
तर यसअघि मोहमद अमिर र हरिस सोहिलले इंग्ल्यान्ड भ्रमण नगर्ने जनाएका थिए ।
Categorized in स्पाेर्ट्स