arin enterprises

नारीलाई सम्मानको सन्देसहित १०८ कुमारी पूजा

SamacharDesk – केके मानन्धर | २०७८ मङ्सिर ७, मंगलबार

काठमाडौंको बसन्तपुरमा १०८ कन्याहरुको कुमारी पूजाको आयोजना गरिएको छ ।

महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको ईनर ह्वील क्लब अफ कीर्तिपुर, टोखा, महालक्ष्मी र ईनर ह्वील क्लब अफ कीर्तिपुर मिलेनियल्सले संयुक्त रुपमा कुमारी पूजाको आयोजना गरेको हो ।

पूजामा सहभागी कन्याहरुलाई बास्तविक कुमारी माजु, गणेश र भैरवबाट टीका र प्रसाद बक्स हुँदै पूजा शुरु गरिएको थियो ।

बालिकाहरुको आरोग्य, दीर्घायू र सुखशान्तिको कामनासहित गरिएको कुमारी पूजामा सामुदायिक र संस्थागत स्कुल, बालगृहका घरबारबिहीन तथा अनाथ नानीहरुको सहभागिता थियो ।

पूजामा श्रद्धालु भक्तजनहरुले कुमारी कन्याहरुलाई दानदक्षिणा र विभिन्न उपहारहरु दिएका थिए ।

ईनर ह्वील क्लब कीर्तिपुरकी अध्यक्ष सुशीला मानन्धरले नारीलाई सम्मान भावले पूजा गर्ने नेपाली चलनलाई अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्न कुमारी पूजाको आयोजना गरिएको बताउनुभयो ।

हिन्दु र बौद्ध धर्म परम्परामा कुमारी वा कन्याले देश र जनतालाई रक्षा गर्ने विश्वास गरिन्छ ।

पञ्चकन्यालाई हिन्दु धर्ममा अहिल्या, द्रोपदी, कुन्ती, तारा र मन्दोदरीको रुपमा स्वीकार गरिएको अध्येता सुशील राजोपाध्याय बताउँछन् ।

रजश्वला हुनुपूर्वका कुमारी केटी अर्थात कन्याहरुलाई १०८ संख्या बनाएर पूजा गर्नुको अर्थ संख्यामा पूर्णता दिइएको राजोपाध्यायको दाबी छ ।

नारीहरुको क्षमता अभिवृद्धि गरी उत्थान गर्ने उद्देश्यले स्थापित ईनर ह्वील अन्तर्राष्ट्रिय सामाजिक संस्था हो ।

Categorized in समाज