arin enterprises

वसपार्कका ११२ पसलमा महानगरपालिकाबाट सिलबन्दी

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७८ बैशाख २, बिहिबार

काठमाडौंको पुरानो वसपार्कमा लामो समयदेखि विना सम्झौता सञ्चालन भइरहेका एक सय १२ वटा पसलमा आज सिलबन्दी गरिएको छ ।

पुरानो वसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका एक सय १२ वटा पसललाई काठमाडौँ महानगरपालिकाले आज सिलवन्दी गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि विना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि आज शिलबन्दी गरेको जानकारी दिनुभयो । अब त्यसलाई भत्काएर सभागृहकै एक भागको रुपमा व्यवस्थित गरिने ज्ञावलीले बताउनुभयो ।

काठमाडौँ महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले पनि सिटी मार्केटमा व्यवसाय गर्ने व्यवासायीले २०७६ चैतसम्म व्यवसायीहरुको संघमार्फत केही भाडा बुझाएको र त्यसपछि नबुझाएको बताए । पटक–पटक ताकेता गर्दा पनि वेवास्ता गरेपछि सिलबन्दी गर्न बाध्य भएको अधिकारीको भनाई थियो ।

उहाँले काठमाडौँ महानगरपालिकाको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको पनि जानकारी दिनुभयो ।

नगरप्रहरी प्रमुख धनपती सापकोटाले पनि पटक–पटक सूचना दिँदा पनि नहटाएपछि आज प्रहरी र नगरप्रहरीले सिल गरेको जानकारी दिनुभयो ।

पलस सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए । प्रहरीले उनीहरुलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई पक्राउ पनि गरिएको थियो ।

Categorized in स्थानीय