११३ वर्षीया स्पेनीस वृद्धाले कोरोनालाई जितिन्
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख ३१, बुधबार

कोरोना भाइरसले विश्वव्यापी लाखौंको ज्यान लिईरहेको बेला स्पेनमा ११३ बर्षे बृद्धा मारिया ब्रानयासले कोरोनाभाइरससँगको लडाईँ जितेकी छिन् ।
गत अप्रिलमा उनमा श्वासप्रश्वासको समस्या देखिएपछि परिक्षण गर्दा उनमा कोरोना भाइरस देखिएको थियो ।
अमेरिकामा जन्मिएकी मारिया विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आएकी थिइन् ।
केएर होमकी प्रवक्ताले मारिया बाँच्न सफल हुनुभएको र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताइन् । उनले भने, ‘मारियाको गत साता स्वास्थ्य परीक्षण गरिएको थियो र उहाँको नतिजा नेगेटिभ देखिएको हो ।
सानो छँदा उनले २० औं शताब्दीको सबैभन्दा भयानक महामारीको नाम दिइएको १९१८–१९ को स्पेनी फ्लुलाई पनि जितेकी थिइन् । साथै सन् १९३६–३९ को स्पेनी गृहयुद्धमा पनि उनी बाँच्न सफल भएकी थिइन् ।
मारियाको जन्म अमेरिकाको सान फ्रान्सिस्कोमा मार्च ४, १९०७ मा भएको थियो । उनका स्पेनी बुबा अमेरिकामा पत्रकार थिए ।
उनी आफ्ना परिवारका साथ पहिलो विश्वयुद्धताका डुंगा चढेर स्पेन फर्किएकी थिइन् ।
तीन सन्तानकी आमा मारियालाई केही साता उनकै कोठामा आइसोलेसन (एकान्तबास) मा राखिएको थियो । उनको हेरचाहको लागि एक जना कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) दिएर खटाइएको थियो ।
क्याटालान टेलिभिजन टिभी ३ ले शताब्दी वृद्धाको समाचार कथा प्रशारण गरेको छ । टेलिभिजन फुटेजमा मारियाले आफूलाई केएर होमका कर्मचारीले निकै माया गरेको बताएकी छिन् ।
पाको उमेरका व्यक्तिहरु बारे अध्ययन गर्ने अनुसन्धाताहरुको विश्वव्यापी समूहका अनुशार मारिया कोभिड १९ लाई हराउने विश्वको सबैभन्दा बढि उमेरकी व्यक्ति हुन् ।
स्पेनमा हाल कोरोनाभाइरसका २ लाख ७१ हजार ९५ जना संक्रमित छन्, जबकि त्यहाँ कोरोनाभाइरसबाट मर्नेहरूको संख्या २७ हजार १ सय ४ रहेको छ । १ लाख ८३ हजार २ सय २७ जना बिरामीहरूलाई उपचार पछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय