१२ वडाले पेशाकर्मी र विद्यार्थीहरुलाई सम्मान गर्ने
SamacharDesk – बिराज | २०८३ जेठ ७, बिहिबार
काठमाडौ महानगरपालिकाको वडा नं. १२ ले स्नातक तह उत्तीर्ण पेशाकर्मी र स्नातकोत्तर तह उत्तीर्ण सबैलाई सम्मान गर्ने भएको छ ।
आज वडामा पत्रकारहरुसँग कुराकानी गर्दै कामपा १२ वडाका वडाध्यक्ष साथै महानगरपालिकाको वातावरण समिति संयोजक वालकृष्ण महर्जनले यस्तो जानकारी दिएका हुन् ।
वडाध्यक्ष महर्जनले व्यक्तित्व र पेशा पहिचान तथा युवाहरुलाई भविष्यप्रति सकारात्मक बनाउन विगत वर्षदेखि नै सम्मान कार्यक्रम आयोजना गरीरहेको बताए ।
वडाका स्थायीवासीलाई प्रदान गरिने यो सम्मानका लागि जेठ ११ गतेभित्र शैक्षिक योग्यता तथा पेशाकर्मीका लागि नवीकरण भएका प्रमाण पत्रको प्रतिलिपि बुझाउन वडाले आग्रह गरेको छ ।
‘दिनहुँको व्यस्त जीवनबाट वडावासी सम्मानका दिन एक ठाउँमा भेला हुँदै एक अर्काको पेशाप्रति परिचित हुनेछन् । आफूलाई आवश्यक परेको पेशासँग सम्बन्धित सेवा वडाबासीबाटै सजिलै लिने वातावरण बन्नेछ’ वडाध्यक्ष महर्जनले स्पष्ट गरे ।
वडाले २०८१ सालमा ६७ जना विद्वत व्यक्तित्व, चक्रेश्वर, गुरु, नायः, कजि गरी ३४ जनालाई सम्मान गरेको थियो भने २०८२ सालमा १६३ जना व्यक्तित्वलाई सम्मान प्रदान गरिएको थियो ।
यस पटक विद्वत वर्गमा इञ्जिनियर, एमबीबीएस डाक्टर, चार्टर अकाउन्टेन, रजिष्ट्रर्ड अडिटर, पाइलट, विद्यालय–क्याम्पसका प्रधानाध्यापकहरु, राष्ट्रिय अन्तरराष्ट्रिय खेल प्रतियोगिताका पदक विजेतासहितलाई सम्मान गर्ने योजना वडाको रहेको छ ।
Categorized in स्थानीय




