आज मध्यरातबाट लकडाउनको अन्त्य
SamacharDesk – विकाश | २०७७ श्रावण ६, मंगलबार

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपाल सरकारले जारी राखेको लकडाउन आज रातीबाट अन्त्य हुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत चैत्र ११ गतेबाट जारी लकडाउन आज मध्यरातबाट अन्त्य गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारका प्रवक्ता साथै अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषद्को निर्णय सुनाउँदै मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेको जानकारी दिए ।
आजको मन्त्रिपरिषद वैठकले एक सय २० दिनदेखि जारी लकडाउन हटाउनुका साथै केही सेवा तथा क्रियाकलापहरुमा प्रतिवन्ध भने जारी रहने निर्णय गरेको हो ।
के के खुल्यो ?
भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न सकिने सरकारले भनेको छ ।
भदौ १ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न पाइने जानकारी दिनुभयो ।
निजी सवारी–साधनमा लगाउँदै आएको जोर–बिजोर प्रणाली पनि हटाइएको छ ।
यसको साथै साउन १५ गतेबाट होटल तथा रेस्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको छ ।
ट्रेकिङ, ट्राभल्स र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
अब विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
के के खुलेन ?
लकडाउन पूर्ण रुपमा हटेपनि शैक्षिक संस्थाहरु अझै बन्दै रहनेछन् । सरकारले भर्ना र परिक्षा मात्र गर्न पाइने निर्णय गरेको हो ।
यसको साथमा होटल, रेस्टुरेन्टहरु खुलेपनि भोज, पार्टी, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन गर्न पाइने छैन ।
सिनेमा हल, डान्स बारलगायतका ठाउँमा पनि प्रतिवन्ध अझै कायमै छ ।
सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूह भेला हुने खेलहरु पनि गर्न पाइने छैन ।
धार्मिक स्थलहरु, पुस्तकालय, संग्रहालय, चिडियाघर पनि बन्द नै रहनेछन् ।
आन्तरिक र बाह्य हवाई उडान भदौ १ गतेबाट सुचारु गर्ने निर्णय हिजो नै भइसकेको थियो ।
Categorized in राष्ट्रिय