स्मार्टको रक्तदान कार्यक्रममा १४१ जनाको सहभागीता
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० जेठ २२, सोमबार

स्मार्ट एरोविक्स, स्मार्ट बचत तथा ऋण सहकारी संस्था र भिसा एलायन्सको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एसोशियसनको आह्वानमा आयोजित रक्तदान कार्यक्रममा १४१ जनाले रक्तदान गरेका थिए ।
सो क्रममा संघीय सांसद गणेश पराजुली, नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमि भट्टराई र गायक रमेश कुमार विश्वकर्मासमेतले रक्तदान गरेका थिए ।
स्मार्ट एरोविक्सका अध्यक्ष निर्मल महर्जनले आवश्यकताको समयमा कसैले रगतको अभावको परिस्थिती सामना गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।
ब्लड डोनर्स एसोशियसनका राष्ट्रिय अध्यक्ष सानुबाबु प्रजापति, स्मार्ट एरोविक्सका सल्लाहाकार केदार दवाडीले स्वस्थ मानिसले समय अनुसार नियमित रक्तदान गर्ने गरेमा आवश्यकताको बेलामा सबैले सहज रुपमा रगत पाउन सकिनेमा जोड दिँदै रक्तदान गर्न सबैमा आग्रह गरेका थिए ।
Categorized in समाज