प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै डेढ सय प्रहरी क्वारेन्टाइनमा
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ ७, बुधबार

महानगरीय प्रहरी वृत्त, कालीमाटीका २ जना प्रहरी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएसँगै करिब डेढ सय प्रहरीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
दुई जना प्रहरी अधिकृतको आर.डि.टि. परिक्षणमा कोरोना एन्टिबडि पोजिटिभ देखिएपछि मंगलबार पि.सि.आर. प्रविधिबाट गरिएको परिक्षणमा पनि संक्रमण पुष्टि भएको हो ।
यहाँका दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै त्यस इलाकामा खटिएका प्रहरीहरुलाई क्वारेन्टाइनमा राखिनुका साथै प्रहरी कार्यालय पनि सिल गरिएको छ ।
त्यस इलाकामा भएका महानगरीय प्रहरी वृत्त कालीमाटी, कालीमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारमा कार्यरत प्रहरीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
सबै प्रहरी अधिकृतहरु क्वारेन्टाइनमा राखेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट थप मद्दत टोली कालीमाटी पठाइएको छ ।
ती संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य पनि सुरु गरिएको छ ।
हालसम्म ६ जना सुरक्षाकर्मीहरुमा संक्रमण देखिसकेको छ ।
Categorized in समाज