पर्सामा एकै परिवारका १८ जना कोरोना संक्रमणबाट निको भए
SamacharDesk – विकाश | २०७७ जेठ १२, सोमबार

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत एकै परिवारका १८ जना संक्रमण निको भएर घर फर्केका छन् ।
पछिल्लो दुई पटकसम्म गरिएको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि आइतबार राती अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो ।
डिस्चार्ज हुनेमा वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारमा चार महिने शिशुदेखि ६६ वर्षका वृद्धसम्म रहेका छन् । तीमध्ये १० जना पुरुष, ७ महिला र एक जना चार महिने बालक रहेको छ ।
गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको क्रममा उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो भने उनको परिवारका १७ जना सदस्य सबैमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।
पर्सामा हालसम्म ९४ जनामा संक्रमण देखिएको छ भने २९ जना डिस्चार्ज भएका छन् ।
योसँगै कोरोनाबाट निको हुनेको संख्या १ सय ५ पुगेको छ ।
शनिबार मात्र नारायणी अस्पतालबाटै ९ जना निको भएका थिए । नारायणीबाट निको हुनेमा पुनः संक्रमण देखिएका दुई जना पनि थिए । जसमा एकजना युवक रौतहटका हुन् भने अर्का भारतीय नागरिक हुन् ।
पुनः संक्रमण देखिएर पुनः निको हुने तिनीहरु दुई जनालाई नयाँ गणनामा गनिएको छैन ।
शनिबार नै बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालबाट१० जना निको भएका थिए ।
संक्रमितको संख्या भने ६७५ पुगेको छ । तीमध्ये ३ जनाको मृत्यु भइसकेको छ ।
Categorized in समाज