अनलाईन ठगी गरेको अभियोगमा २ जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ पौष १७, शुक्रबार

सामाजिक संजाल इन्स्टाग्राम र वाट्स्एपको माध्यमबाट साथी बनाई लाखौं नगद ठगी गरेको अभियोगमा रुपन्देहीबाट २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका–४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त कुमार उपाध्याय रहेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीमा लुकीछिपी बसेका अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले इन्स्टाग्राम र वाट्स्एपमा फेक आइडी मार्फत सम्पर्क गरी आफूलाई नेदरल्याण्डको नागरिक र केमिकल ईन्जिनियर बताई ठगी गर्ने गरेको देखिन आएको प्रहरीले बताएको छ ।
उनीहरुले आईफोन ११, ल्यापटप, सुन लगायत बहुमूल्य सामानहरु गिफ्ट पठाई दिएको र भन्सार तिर्नुपर्ने भन्दै पीडितहरुबाट विभिन्न बैंकहरूको खातामा पटक–पटक पैसा जम्मा गर्न लगाई ठगी गरेको बताइएको छ ।
उनीहरुले यसरी १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको महाशाखाले जनाएको छ ।
उनीहरूलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।
Categorized in अपराध