arin enterprises

हराएका २० वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

SamacharDesk – बिराज | २०८० चैत्र १३, मंगलबार

विभिन्न समयमा हराएका २० वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका उक्त सवारी साधनहरु सम्वन्धित सवारी धनीलाई हस्तान्तरण गरिएको हो ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १८ वटा मोटरसाइकल र २ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा उक्त सवारी साधनहरु विभिन्न ठाउँबाट फेला परेको प्रहरीले जनाएको छ ।

‘पेप्सीकोला, कपन, बौद्ध, गौशाला, सुन्धारा, माछापोखरी, स्वयम्भू, चापागाउँ, बुङ्गमती लगायतका स्थानबाट सवारी साधनहरु फेला परेका हुन् । केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला परेको हो’ प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले भने ।

ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्ममा ट्राफिक प्रहरीले २८५ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।

अवैध रूपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सोही कार्यक्रममा जानकारी दिए ।

चालु आर्थिक वर्षको हालसम्म चोरीका २४ वटा दुईपाङ्ग्रे सवारी साधन सहित संलग्न २९ जनालाई पनि कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, सुरक्षा साइरन लगायतका विभिन्न सुरक्षा उपायहरु अवलम्वन गर्न टाफिक प्रहरीले आग्रह गरेका छ । 

Categorized in समाज
SKIP THIS buddhan jayanti 2082