खाद्य स्वच्छताका लागि २ हजार ६९ जना व्यवसायीलाई तालिम
SamacharDesk – बिराज | २०८२ माघ २, शुक्रबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रम अन्तर्गत अहिलेसम्म आठौँ सृङ्खला सकिएको छ ।
आठौँ संस्करणको तालीमको क्रममा मःमः पसल सञ्चालक तथा व्यवसायी २५० जनालाई तालिम प्रदान गरिएको थियो ।
आठौँ संस्करणको क्षमता विकास कार्यक्रमको अवलोकनका क्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, सहरको खाद्य सेवालाई महसुस योग्य बनाउन एक साथ काम गर्न व्यवसायीलाई आग्रह गरिन् ।
‘हामी नियमित बजार अनुगमनमा छौँ तर, हामी अनुगमन मात्र गरिरहेका छैनौँ । व्यवसायीलाई कानुनी व्यवस्थाका बारेमा साक्षर गराउँछौं र व्यापारिक क्षमता विकास गराउँछौँ’ उपप्रमुख डंगोलले भनिन् ।
त्यस क्रममा व्यवसायीहरुले साना व्यापारिक क्रियाकलाप सहज बनाउनका लागि नीति खुकुलो बनाइदिन, खानेपानीको नियमित वितरण प्रणाली मिलाइ दिन आग्रह गरेका थिए ।
कामपाको सो कार्यक्रम आठौं संस्करणसम्म आइपुग्दासम्म २ हजार ६९ जना व्यावसायीलाई खाद्य सेवाको स्वच्छता र सरसफाइ सम्बन्धी तालिम प्रदान गरेको छ ।
स्वच्छ खानाः उत्कृष्ट व्यापार (सेफर फुडः वेटर विजनेस) सोच राखेर थालिएको तालिममा खाद्य सेवामा अत्याधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरिएको छ ।
तालिमको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका तीन सय जना सञ्चालकलाई तालिम दिइएको थियो ।
त्यस्तै दोस्रो संस्करणमा २०८१ को दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई र तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा १६२ जनालाई तालिम दिइएको थियो ।
चौथो संस्करणमा होटल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका ३६६ जना व्यवसायीका लागि, पाँचौँ संस्करणमा मौलिक तथा रैथाने खानाका उत्पादक र विक्रेता ५०५ जनालाई सहभागी गराइएको थियो ।
छैटौँमा मिठाइजन्य खाद्य सेवाका १०५ जना, सातौमा दूध तथा दूग्ध पदार्थ उत्पादक ६० जनालाई तालिम प्रदान गरियो ।
Categorized in स्थानीय




