वाग्मती नदि महोत्सवको २४ औं संस्करण आयोजना गरिने
SamacharDesk – बिराज | २०८१ जेठ २८, सोमबार

एकाईसौं शताब्दीको महोत्सवको रुपमा बाग्मती नदि महोत्सवको २४औं संस्करण मनाइने भएको छ ।
नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लबको आयोजनामा विभिन्न नीजी, सरकारी तथा सामाजिक संघसंस्थाको संयुक्त सहकार्यमा यस महोत्सवको २४औँ संस्करण मनाउन लागिएको हो ।
आयोजक संस्थाले एक प्रेस विज्ञप्ती जारी गर्दै नेवार समुदायले मनाउने सिथि नखः पर्वको दिन यस महोत्सवको उद्घाटन गरिन लागिएको जनाएको छ ।
साँढे दुई महिना चल्ने अभियानको क्रममा हरेक हप्ता नदि सरसफाई, पर्यावरणीय संरक्षण, कला, साहित्य, तथा संस्कृति झल्काउने कृयाकलापहरु, नदीमा र्याफ्टिंग र जल पर्यटनको सम्भावना उजागरण गर्ने विभिन्न कार्यक्रमहरुको योजना गरिनेछ ।
कार्यक्रम काठमाडौँ र ललितपुर महानगरपालिकाको स्वामित्वका साथै विभिन्न कलाकार र अभियानकर्मीहरुको सहयोग तथा समन्वयमा आयोजना गरिने जानकारी आयोजकले दिएको छ ।
विज्ञप्तीमा उल्लेख भए अनुसार भाद्रको पहिलो शनिबार सांस्कृतिक तथा सांगीतिक कार्यक्रम, खाना महोत्सव, बन्धुत्व र्याफ्टिंग (Friendship Float) लगायत विभिन्न कृयाकलाप गरी महाजल जात्रा कार्यक्रम सहित यस बर्षको महोत्सव समापन गरिनेछ ।
नेपाल नदी संरक्षण संस्थाले २००१ देखि यो अभियानको सुरुवात गरेको हो ।
शिवपुरीको बागद्वारबाट सुरु भएर, विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर हुँदै भारतको पवित्र नदि गंगासम्मको यात्रामा बग्ने बाग्मती नेपालकै सबैभन्दा पवित्र र पुरानो नदि मानिन्छ ।
सांस्कृतिक, धार्मिक, सामाजिक, ऐतिहासिक र आर्थिक महत्व बोकेको यो नदि वर्तमान समयमा प्रदुषणले दुर्गन्धित हुँदै गइरकेको छ ।
नदि किनारामा अव्यवस्थित वस्ती, कृषि र व्यवसाय क्षेत्रमा निस्किेन फोहोरको थुप्रो, नदी अतिक्रमण, अप्रशोधित ढल इत्यादीले नदि सुक्दै र प्रदूषित हुँदै गइरहेको छ ।
नदिको संरक्षणका लागी भन्दै तीन दशकदेखि विभिन्न प्रयासहरु गरिएतापनि हालसम्म कुनै दीगो प्रभावकारी परिणाम भने देखिएको छैन् ।
नेपाल सरकारले आर्थिक बर्ष २०८१/८२ मा बागमती सफाई र सभ्यता परियोजनाकालागि २ अर्ब ७२ करोड विनियोजन गरेको छ ।
Categorized in समाज