arin enterprises

उपत्यकाका विभिन्न स्थानमा लागूऔषधसहित ३ जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ पौष १५, बुधबार

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट विभिन्न अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

३ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित धादिङ गजुरी गाउँपालिका–८ का २८ वर्षीय दिपक अधिकारीलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

नागढुंगास्थित चेकप्वाईन्टमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ९०६४ नम्बरको हाईस गाडीलाई प्रहरीले जाँच गर्नेक्रममा गाडीमा सवार दिपकलाई पक्राउ गरेको हो । २ वटा झोलामा गाँजा लुकाई ल्याएको अवस्थामा उक्त गाँजासहित दिपकलाई पक्राउ गरेको हो ।

त्यस्तै ललितपुर लगनखेलस्थित पाटन अस्पताल अगाडि सडक किनारबाट विभिन्न लागूऔषधसहित एकजना पक्राउ परेका छन् । विभिन्न लागूऔषधसहित आइरहेका भारत बिहार ठेगाना भएका २३ वर्षीय जमाल आलमलाई आजै बिहान प्रहरीले पक्राउ गरेको हो ।

आलमको साथबाट ३ सय एम्पुल डाईजेपाम, ३ सय एम्पुल बुप्रेनोर्फिन र ३ सय एम्पुल फेनारगन बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो ।

त्यसैगरी ललितपुरको बंगलामुखी मन्दिर अगाडि सडक किनारबाट पनि विभिन्न लागू औषधसहित एक जना पुरुष पक्राउ परेका छन् । ललितपुरको बंगलामुखी नै बस्ने ३५ वर्षीय सुरेश खड्गीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

खड्गीको साथबाट ९० एम्पुल डाईजेपाम, ९० एम्पुल बुप्रेनोर्फिन र ९० एम्पुल फेनारगन बरामद भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले खड्गीलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

Categorized in अपराध