नइका तीन कृतिको लोकार्पण
SamacharDesk – बिजयरत्न | २०८२ बैशाख ३०, मंगलबार

वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०६औं जन्म जयन्ती मनाएको छ ।
आज काठमाडौंमा एक समारोहको आयोजना गरी फाउन्डेसनले शताब्दी पुरुष डा. जोशीको जन्म जयन्ती मनाएको हो ।
समारोहमा नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण गरिएको थियो । वानीरा फाउन्डेसनका संस्थापक ई. शङ्कर गिरीले उक्त तीन वटा कृतिको लोकार्पण गरे ।
समारोहमा अक्षर शिरोमणि मदनमणि दीक्षितकृत ‘नरेन्द्रराज प्रसाईका पाँच जीवनीकृति’, गोविन्द भट्टकृत ‘इन्दिरा प्रसाईको ए समुद्र !’ र ठाकुर शर्मा भण्डारीद्वारा लिखित ‘नइ कीर्ति विवेचना’ लोकार्पण गरिएको थियो ।
दीक्षितकृत कृतिको सम्पादन श्रीमती इल्या भट्टराई र भट्टकृत कृतिको सम्पादन प्रा.डा.ऋषिराम शर्माले गरेका छन् ।
समारोहमा वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा.केशव सुवेदी, इल्या भट्टराई, ठाकुर शर्मा भण्डारी, नरेन्द्रराज प्रसाई र भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र लोकार्पण भएको कृतिहरुबारे मन्तव्य राखेका थिए ।
Categorized in पेजथ्री