कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ श्रावण १२, सोमबार

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैपल्ट तीनजना संक्रमितको मृत्यु पुष्टि गरेको छ ।
पर्सा जिल्ला वीरगंज महानगरपालिका १० बस्ने ६५ वर्षीय कोरोना संक्रमित भारतीय नागरीकको हिजो मृत्यु भएको छ ।
मुटु तथा मधुमेह समेतको रोगी रहेका पुरुषको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा हिजो मृत्यु भएको हो ।
त्यसैगरी धनुषा जिल्ला शहिदनगर नगरपालिका ८ डुमरिया निवासी ३६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि हिजै मृत्यु भएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि १० गते प्रादेशिक अस्पताल जनकपुरको इमर्जेन्सीमा पुगेका उनलाई आइसीयूमा भर्ना गरी उपचार गरिँदै थियो ।
स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै उनको निधन भएको हो ।
त्यस्तै बारा जिल्ला फेटा गाउँपालिका ३ निवासी ६० वर्षीय पुरुषको आज त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको छ ।
मृतक पुरुक्ष निमोनिया, मष्तिष्कघाट र मृगौला सम्वन्धी रोगबाट ग्रसित रहेको जनाइएको छ ।
पछिल्ला केही दिनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनहुँ जसो थपिरहेको छ ।
Categorized in समाज