arin enterprises

ललितपुर ओकुबहालमा तीन दिने कला प्रदर्शनी शुरु

SamacharDesk – बिराज | २०७८ आश्विन १२, मंगलबार

उचाई ७२ फिट, चौडाई ५८ फिट अनि मोटाइ १८ फिट । सोच्नुहोस्, यो आकारको मूर्तिको भव्यता कस्तो होला ?

यो कुनै पूर्ण कदको मूर्तिको कुरा होइन । ललितपुर एकान्तकुना रिङरोडबाट १० किलोमिटर टाढा छम्पि डुकुछापको फिसिङफाँटमा यो आकारको भैरवको टाउको स्थापना गरिन लागेको हो ।

ललितपुरका मुर्धन्य कलाकार स्वर्गीय राजकुमार शाक्यको सपना थियो यो । तर यो सपना पुरा हुन नपाउँदै कोभिड १९ का कारण उनको मृत्यु भयो ।

स्वर्गीय कलाकार शाक्यको यो अधुरो सपना अहिले ललितपुरको ओकुबहालमा हेर्न सकिनेछ । ललितपुरको ओकुबहालमा सोमबार शुरु भएको तीन दिने कला प्रदर्शनीमा सोही भैरवका टाउकोका विभिन्न भागहरु राखिएका छन् ।

भैरव टाउको मूर्तिको अलग अलग भागहरु जस्तै निधारमा बस्ने नरकंकालका ठुलठुला टाउकोहरु चारवटा, भैरवको आँखा तीनवटा, नाग आदि प्रदर्शनीमा राखिएका छन् ।

‘यो मूर्ति पहिल्यै बनिसक्थ्यो तर, मौसमका कारण, लकडाउन आदिका कारणले रोकियो । अब चाँडै नै यी सबै सामग्री उता लगेर मूर्ति निर्माणको अन्तिम चरणको काम शुरु हुनेछ’ सो मूर्तिका परिकल्पनाकार राजेश अवालेले भने ।

ललितपुर महानगरपालिका हस्तकला प्रवद्र्धन समिति र ललितपुर महानगरपालिका ६ वडा कार्यालय पर्यटन प्रवर्ध्दन समितिले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरेको हो ।

सोमबार ओकुबहाल यतालिबिमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले प्रदर्शनको शुभारम्भ गर्नुभएको हो ।

विश्व पर्यटन दिवस २०२१ या अवसरमा आयोजना गरिएको प्रदर्शनीमा लतिलपुरका ६० वर्ष उमेर कटेका र दिवंगत मुर्धन्य कलाकारहरुको हस्तकलाका सामग्री राखिएको छ ।

पुरानो पुस्ताको कला, सीप र प्रतिभा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएको छ ।

अग्रज कलाकारहरुको यस्तै ज्ञान, अनुभव र प्रतिभा नयाँ पुस्तामा हस्तान्तरण गर्न यो प्रदर्शनीको आयोजना गरिएको कलाकार सन्तकुमार शाक्यले बताए ।

‘कुनै पनि मूर्ति वा अन्य सामग्री बनाउँदा कुनै धातु पगाल्दा त्यसको तापक्रम हेर्न हाम्रा कलाकारलाई थर्मोमिटर चाहिन्न, आँखाले हेरे पुग्छ । अहिलेको विकसित प्रविधिभन्दा अझ यो ज्ञान भरपर्दो पनि छ’ शाक्यले गर्वसाथ भने ।

प्रदर्शनीमा क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालेको मेकसम्बरको मूर्ति पनि प्रमुख आकर्षण बनेको छ । प्रदर्शनीका अवलोकनकर्ताहरु उक्त मूर्तिको अगाडी उभिएर सेल्फी र फोटो खिचिरहेका थिए ।

मेकसम्बरको मूर्तिको भव्यता पनि शब्दले बयान गर्न सकिन्न ।

प्रदर्शनीमा हजार हातका सहस्रभुजा लोकेश्वर, स्वर्गीय कलाकार सिद्धिराज शाक्यको तुलाद्यःलगायत करीब ३० जना कलाकारका श्रृजनाहरु राखिएका छन् । प्रदर्शनी बुधबारसम्म हुनेछ । 

Categorized in संस्कृति