arin enterprises

तेश्रो संसार म्यूजिक भिडियो अवार्डको प्रमाण पत्र वितरण

SamacharDesk – बिराज | २०८१ माघ १३, आइतबार

तेश्रो संसार नेशनल संसार स्टार म्यूजिक भिडियो अवार्डका लागि दर्ता भएका म्यूजिक भिडियोहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

अवार्डको आयोजक संस्था क्रिएशन्सले गत विहिबार कीर्तिपुरमा एक कार्यक्रम गरी अवार्डका लागि दर्ता भएको ९५ वटा म्यूजिक भिडियोहरुका आधिकारीक व्यक्ति र संस्थालाई प्रमाण पत्र प्रदान गरेको हो ।

सोही कार्यक्रममा कलाकार राजु महर्जन ‘जुजु’ को परिकल्पना र लेखन रहेको फिल्महरुको स्क्रीप्ट संग्रह पुस्तक ‘नेवाः प्याखं मुना’ पनि विमोचन गरिएको थियो ।

ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल, वरिष्ठ निर्देशक प्रकाश सायमि, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ निर्देशक पवन जोशी, वरिष्ठ साहित्यकार विक्रमभक्त जोशी लगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरे ।

सार्वजनिक गरिएको पुस्तकको सम्पादन कलाकार साथै निर्देशक सुनिता राजभण्डारीले गरेकी छन् । उक्त पुस्तकमा स्वतन्त्र संसार महर्जनबाट अभिनित र निर्देशित ६ वटा फिल्महरुको स्क्रीप्ट संग्रहित छ ।

उक्त पुस्तकलाई नेपालकै पहिलो स्क्रीप्ट संग्रह पुस्तक दावी गरिएको छ ।

कार्यक्रममा बोल्दै संसार क्रिएसन्सका सल्लाहकार, संसार संगीतालयकी संरक्षक सरिता महर्जन, संसार क्रिएसन्सका सल्लाहकार साथै ललितपुर महानगरपालिका २१ वडाका वडाध्यक्ष रविन्द्र महर्जनले स्थानीय कला र कलाकारको सम्मानको लागि संसार क्रिएसन्सले विभिन्न सांगितिक, खेल गतिविधिसमेत गर्दै आएको बताए ।

सोही क्रममा अहिले स्टार म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करण भव्य र सभ्य रुपमा आयोजना गर्न आफुहरु अघि बढेको संसार क्रिएसन्सका सल्लाहकार महर्जनद्वयको भनाई हो ।

संसार क्रिएसन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जन स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा उपस्थित हुन नसकेको अवस्थामा महर्जनबाट जारी कार्यक्रम संचालक बिराजकाजी राजोपाध्यायले वाचन गरेर सुनाएका थिए ।

क्रिएटिभ डाइरेक्टर महर्जनबाट जारी उक्त विज्ञप्तीमा यस वर्ष केही विधा र पुरस्कार थप गर्दै विधाको संख्या ३२ र अवार्डको संख्या १३५ पुर्‍याइएको जानकारी दिइएको थियो ।

अवार्डको यस संस्करणबाट लाइफटाइम अचिभमेन्ट अवार्ड समाजसेवी एवम् आर.बि. डाइमण्ड ज्वेलर्सका संस्थापक अध्यक्ष स्वर्गीय रमेश महर्जनप्रति समर्पित गर्दै ‘रमेश महर्जन स्मृति संसार लाइफटाइम अचिभमेन्ट अवार्ड २०८१’ बनाइएको जानकारी पनि दिइएको थियो ।

मन्तव्यको क्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख साथमा गोदावरी नगरपालिकाका नगर प्रमुख महर्जनद्वयले स्थानीय कला संस्कृतिको संरक्षण, सम्वर्ध्दन र प्रवर्ध्दनमा आफुहरुको साथ, सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

साथमा वरिष्ठ निर्देशकद्वय सायमि र जोशी, वरिष्ठ सिने पत्रकार तुलाधर र वरिष्ठ साहित्यकार जोशीले अवार्ड कार्यक्रमको सफलताको कामनासहित आफ्ना विचार राखेका थिए ।

यस अवार्डलाई संसारकै सबैभन्दा ठुलो र लामो अवधिसम्म आयोजना हुने अवार्डको रुपमा विश्व रेकर्ड कायम गर्न आफुहरु प्रयासरत रहेको आयोजक संस्थाले जनाएको छ । 

Categorized in पेजथ्री