जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७८ श्रावण ४, सोमबार

जापान पठाइदिने प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गर्ने चार जना पक्राउ परेका छन् ।
जापान पठाइदिन्छु भन्दै ३९ लाख ६८ हजार ९ सय ९६ रुपैयाँ ठगी गरेको अभियोगमा एक पुरुष र ३ जना महिलालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने मकवानपुर हेटौंडाकी ३७ वर्षीया शुभद्रा परियार, काठमाडौं नयाँ बानेश्वर बस्ने ईलामकी ३३ वर्षीया पुजा राई, काठमाडौं कपन बस्ने सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका–७ खरिपाटी बासँवारी बस्ने २१ वर्षीया दिपिका केसी रहेका छन् ।
अनुसन्धानको क्रममा ती चार जनाले सामाजिक संजाल फेसबुकमा ‘टानाकायोका’ नामबाट आइडि बनाई ठगी गरेको देखिन आएको प्रहरीले बताएको छ । आफुहरु जापानको ‘इमिग्रेसन’मा काम गर्ने जापानको नागरिक भन्दै पीडितहरुसँग चिनजान गरेका थिए ।
जापान जान वर्किङ भिषा प्रक्रियाको लागि रकम पठाउनु पर्छ भनि प्रलोभनमा पारी उक्त नगद विभिन्न बैंक खातामा डिपोजिट गर्ने लगाई जापान नपठाई सम्पर्क विहीन भएको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
Categorized in अपराध