मानव बेचबिखनमा सलंग्न चार जना पर्साबाट पक्राउ
SamacharDesk – समाचारडेस्क क्राइम ब्यूराे | २०८१ माघ १९, शनिबार

राम्रो काममा लगाइदिने भन्दै यौन धन्दामा लगाउने चार जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाबाट मानव वेचबिखनमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरेको हो ।
पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं. १६ भन्सार नजिक सञ्चालनमा रहेका होटलहरूमा चेकजाँच गर्ने क्रममा दुई जना महिला र दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
भारत विहारको छपरा थाना मडहौरा ग्राम पञ्चायत बरदहिया वडा नं. ११ बस्ने वर्ष ३५ मनेजर राय, महोत्तरी जिल्ला भंगहा नगरपालिका वडा नं. २ टिकुलिया बस्ने ३२ वर्षीया सुक्राति चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै ओखलढुंगा जिल्ला देयाले गाउँपालिका वडा नं.५ बस्ने ३३ वर्षको दिपेश राई र बारा जिल्ला जित सिमरा उपमहानगरपालिका वडा नं. १४ का ३८ वर्षीया मिरा कुमारी महतो पनि पक्राउ परेका छन् ।
साथमा प्रहरीले होटल स्वस्तिकाबाट एक जना र होटल रितेशबाट एक जना गरी दुई जना महिलाको उद्धार पनि गरेको छ ।
अनुसन्धानको क्रममा पक्राउ परेका ती चार जनाले राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाउने गरेको देखिएको प्रहरीले बताएको छ ।
चारै जनालाई नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साथमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिएका छन् ।
Categorized in अपराध