कक्षा १२ को कम्प्युटर साइन्सको उत्तरपुस्तिका सहित ४ जना पक्राउ
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ बैशाख २७, बिहिबार

कक्षा १२ को कम्प्युटर साइन्स विषयको परीक्षाको उत्तर अनाधिकृत रुपमा लेखिरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बैसाख २६ गते बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म कक्षा १२ को कम्प्युटर साइन्स विषयको परीक्षा भएको थियो ।
सो परिक्षा चलिरहेकै समयमा उक्त विषयको प्रश्नपत्र आउट गरी शंकास्पद रुपमा बाहिर बसी उत्तर पुस्तिकामा उत्तर लेखिरहेका चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौंको सरस्वतीनगर कपन बस्ने बर्ष ३८ को माधब त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने बर्ष १९ को सबिन पौडेल रहेका छन् ।
ती दुई सँगै काठमाडौंको कागेश्वरी मनहरा बस्ने बर्ष २० को सितेश कुमार यादव र कागेश्वरीकै थली बस्ने बस्ने बर्ष २३ को रोशन रानाभाटलाई पनि पक्राउ गरीएको छ ।
उनीहरुले काठमाडौं महानगरपालिका–६ स्थित रहेको वेलकम पार्टी प्यालेसको हलमा बसेर उत्तर पुस्तिकामा उत्तर लेखिरहेका थिए ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको मूल उत्तर पुस्तिकामा सम्बन्धित विषयको नै उत्तर हल गरिरहेको अवस्थामा उक्त पार्टी प्यालेसबाट उनीहरुलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।
ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई शिक्षा ऐन, २०२८ बमोजिम कारवाही गरिने जनाइएको छ । उनीहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप अनुसन्धान कार्य भई रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
Categorized in अपराध