arin enterprises

चार जनालाई नइ पुरस्कार प्रदान गरिने

SamacharDesk – बिराज | २०७८ बैशाख १३, सोमबार

नइ प्रकाशनले भाषा साहित्य क्षेत्रमा योगदान दिने चार जनालाई २०७७ सालको नइ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

नेपाली भाषा साहित्यको नियात्रापरक निबन्धका क्षेत्रमा विशिष्ट सिर्जनात्मक योगदान गरेबापत घनश्याम राजकर्णिकारलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ प्रदान गरिने भएको छ । पुरस्कारको राशी साठी हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी राजधानी बाहिर बसेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा उत्कृष्ट योगदान पुर्‍याएबापत झापाकी भवानी क्षेत्रीलाई ’नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ ।

हिन्दूधर्म, संस्कृति र समाजसेवामा समर्पित भई नेपाली समाजमा उदाहरणीय र प्रेरक योगदान पुर्‍याएबापत भागवत मञ्जरी राधिका दासीलाई ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने भएको छ । दुवै पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै नेपाली भाषा साहित्यका फाँटमा समर्पित हुँदै कविता लेखन तथा वाचनमा योगदान दिँदै आफ्नो शैक्षिक स्तरलाई पनि गुणस्तरीय बनाउने युवराज अधिकारीलाई ‘नइ देरुनीख पौैरख पुरस्कार’ दिइने भएको छ । पुरस्कारको राशी पच्चीस हजार रुपैयाँ रहेको छ ।

नइ प्रकाशनकी अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा  बसेको प्रकाशनको बैठकले सो निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभएको छ ।

प्रकाशनले नेपाली भाषा साहित्यको उत्थानका लागि वाङमय क्षेत्रमा विविध प्रकाशन गर्नुका साथै विविध पुरस्कारहरु प्रदान गर्दै आएको छ । 

Categorized in पेजथ्री