४० माइक्रोन भन्दा पातलो प्लास्टिक प्रयोगमा कडाई
SamacharDesk | २०७९ भाद्र १, बुधबार

सरकारले कम तौलका प्लाष्टिकका सामग्री प्रयोगमा बन्दै लगाउने भएको छ । आजदेखि लागू हुने गरी ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गरिने भएको छ ।
वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, विक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई लागू गर्न कडाई गर्ने जनाएको हो ।
सरकारले गत वर्ष असोज १९ को राजपत्रमा सूचना प्रकाशित गरी ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।
विभागले प्लास्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा आइसकेको भन्दै कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमनमा खुकुलो गरिएको र भदौ १ देखि अनुगमन तीब्र बनाइने जनाएको छ ।
४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोग, उत्पादन तथा बिक्री गरेको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने पनि बिभागले चेतावनी दिएको छ ।
Categorized in राष्ट्रिय