४२ औं पर्यटक प्रहरी दिवस सम्पन्न
SamacharDesk – बिकाश | २०७७ माघ १२, सोमबार

‘४२औं पर्यटक प्रहरी दिवस, २०७७’ आज काठमाडौंमा आयोजित समारोहबीच सम्पन्न भएको छ ।
समारोहमा पर्यटक प्रहरीलाई व्यवसायिक रुपमा सहयोग गनर्ने विभिन्न संघसंस्था, पर्यटन व्यवसायी तथा उत्कृष्ट प्रहरी अधिकृतहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्मान पत्रसहित सबैलाई सम्मान प्रदान गर्नुभयो ।
साे अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पर्यटकप्रति सबैको समान दृष्टिकोण हुनुपर्ने उल्लेख गर्नुभयो ।
‘कतिपय तथ्यलाई आमबुझाइमा बुझिदियो भने त्यो उचित हुन्छ तर त्यही कुरालाई बौद्धिक दृष्टिकोणले हेरिदियो भने कहिलेकाहीँ बुझाइ फरक हुन सक्छ,’ प्रहरी महानिरिक्षक थापा क्षेत्रीले भन्नुभयो, ‘सबै पर्यटकलाई अतिथि देवो भवः अनुसार व्यवहार गर्नुपर्छ ।’
क्षेत्रीले प्रहरीको मनोबललाई अझ उच्च बनाउनको लागि स्थानीय तहबाट सकारात्मक अपेक्षा तथा सुझावको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
आगामी दिनमा पर्यटक प्रहरीलाई आवश्यकता अनुसार दक्ष बनाउँदै लैजाने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
समारोहमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले नेपाललाई सुरक्षित पर्यटक गन्तव्यको रुपमा विकास गर्दै लैजानको लागि सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मी, पर्यटनविद् डा. आलोक प्रसाई र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले पर्यटक प्रहरीले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रहरी निरीक्षक चन्द्र किशोर साहले पर्यटक प्रहरी सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, अध्यागमन विभागका महानिर्देशक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
Categorized in समाज