क्रिकेट प्रतियोगिताका लागि महानगरबाट ५० लाख सहयोग
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ माघ २०, मंगलबार

काठमाडौं मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
आज राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरपालिका र क्रिकेट संघबीच सहयोग सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सहमति पत्रमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र संघका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले महानगरले विगतमा ए डिभिजन फुटवल क्लवलाई जनही १० लाख, वी डिभिजनलाई जनही ६ लाख र सी डिभिजनलाई रु ४ लाख सहयोग गरेको स्मरण गराउँदै खेलकुद क्षेत्रको विकास र प्रवर्ध्दनका लागि लगानी बढाउँदै लगेको बताउनुभयो ।
शाक्यले फुटवल क्लवलाई जस्तै क्रिकेट क्षेत्रको विकासलाई पनि निरन्तर सहयोग गर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।
‘खेलाडी र खेलकुदप्रेमीलाई प्रोत्साहन हुने गरी कार्य गर्नुभयो भने आगामी दिन पनि थप सहयोगको वातावरण निर्माण गर्न सकिन्छ,’ शाक्यले भन्नुभयो, ‘आगामी वर्षको बजेटमा खेलकुदलाई प्राथामिकता दिँदै खेलाडीहरुको मनोवल थप उच्च बनाउनेतर्फ केन्द्रित हुनेछौं ।’
नेपाल क्रिकेट संघका अध्यक्ष चन्दले काठमाडौँ महानगरपालिकाले नेपाली क्रिकेटको स्तर उकास्न र स्तरीय खेलाडी उत्पादनका लागि गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, क्रिकेटले अन्तरराष्ट्रिय स्तरमा नेपालको ख्याती बढाएको बताउनुभयो । महानगरको सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीले संघलाई सम्झौताबमोजिम २ चरणमा अनुदान रकम प्रदान गरिने बताउनुभयो ।
Categorized in स्पाेर्ट्स